फाकफोकथुममा घर आगलागी हुँदा ६१ लाख बराबरको क्षति

  युद्धबहादुर बोहोरा
0 Shares

 

इलाम : फाकफोकथुम -१,खाम्बाङ्गमा घर आगलागी हुँदा ६१ लाख बराबरको क्षति भएको छ।

स्थानीय व्यापारी खड्गबहादुर तामाङको घरमा बुधबार विहान ७ बजे आगलागी हुँदा ६१ लाख ७३ हजार चार सय बराबरको नगद तथा जिन्सी सामान जलेर नस्ट भएको आमचोक प्रहरी चौकीका प्रहरी नायब निरीक्षक भुपेन्द्र ढुंगानाले जानकारी दिएका छन्।

खाना पकाउने कोठाको ग्याँसबाट आगो शुरु भइ साथमा भएको पसलमा राखिएको दुई सय २० लिटर पेट्रोलका कारण आगलागी हुँदा दुई तले दुईवटा कच्ची घर पुर्ण रुपमा क्षति भएको छ भने कुनै मानवीय क्षति नभएको वताइएको छ।

आगलागी पीडित तामाङको नगद १० लाख रुपैयाँ सहित किराना पसलमा भएको खाद्यान्न सामाग्री, गोडाउनमा राखिएको कुचो,अलैंची र घरमा भएको टेलीभिजन,मोबाइल ,आठतोला सुन क्षति भएको नायब निरीक्षक ढुंगानाले बताए।

घटना थाहा पाए पछि प्रहरी चौकी एकतप्पा र प्रहरी चौकी आमचोकबाट खटिएका सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको र पीडितलाई तत्काल राहत सहयोगको व्यवस्था गरिने घटना स्थलमा उपस्थित फाकफोकथुम -१ का वडाध्यक्ष टेकवीर लिम्बुले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार