प्रधानमन्त्री ओलीको अभिव्यक्ति पटक–पटक विवादमा

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक कार्यक्रमहरुमा दिएका अभिव्यक्तिहरु विवादमा पर्ने गरेका छन् ।

कतिपय अवस्थामा उनले प्रयोग गर्ने विम्ब र घोचपेच उनको आफ्नै विचार हो भनेर मान्न पनि सकिन्छ ।

तर, लिखितरुपमा तथ्य–तथ्यांकसहित दिइएका अभिव्यक्तिहरु विवादमा परेपछि भने उनको सचिवालयमा काम गर्ने व्यक्ति वा सम्बन्धित मन्त्रालयको कमजोरी हो भनेर मान्नुपर्ने हुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार संसदमा प्रस्तुत् गरेको तथ्यांक गलत भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

यद्यपि, तथ्यांकका सम्बन्धमा आएका समाचारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै अर्थ मन्त्रालयले मंगलबार टीका–टिप्पणीलाई गलत भनेको छ ।

प्रधानमन्त्री ओलीले प्रस्तुत् गरेको तथ्यांक राष्ट्र बैंक, व्यापार तथा निकासी केन्द्र, उद्योग विभाग एवं महालेखा नियन्त्रकको कार्यालयका तथ्यांकसँग मेल नखाएपछि गलत तथ्यांक प्रस्तुत् गरिएको समाचार आएका हुन् ।

प्रधानमन्त्री कार्यालयका सल्लाहकारहरु प्रशासनिक काममाभन्दा पनि प्रधानमन्त्रीले औपचारिक कार्यक्रममा सम्बोधन गर्दा ध्यान दिनुपर्ने कुरा र विषयवस्तुमा बढी केन्द्रित हुने गर्छन् ।

सल्लाहकारकै सल्लाहबमोजिम तथा सम्बन्धित मन्त्रालयले उपलब्ध गराएका तथ्य–तथ्यांकका आधारमा प्रधानमन्त्रीले अभिव्यक्ति सार्वजनिक गर्दछन् ।

अभिव्यक्तिको जिम्मेवारी प्रधानमन्त्रीले नै लिनुपर्ने भएपनि प्रधानमन्त्री आफैंले सबै अध्ययन–अनुसन्धान गर्न नभ्याउने हुँदा यसको जिम्मेवारी सल्लाहकारहरु तथा सम्बन्धित मन्त्रालयले पनि लिनुपर्दछ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रहिसकेका नेकपा नेता रघुजी पन्त महत्वपूर्ण नीतिगत एवं राजनीतिसँग सम्बन्धित तथा राष्ट्रिय महत्वका विषयहरुमा सल्लाहकारले नै प्रधानमन्त्रीका लागि ‘ड्राफ्ट’हरु तयार पार्ने बताउँछन् ।

यसैगरी, उनकाअनुसार मन्त्रालयसँग सम्बन्धित विषयमा भने मन्त्रालयबाटै प्रारम्भिक ड्राफ्ट बनेर आउने गर्छ ।

तर, यसरी मन्त्रालयले पठाएका ड्राफ्ट सल्लाहकारहरुले अध्ययन–अनुसन्धान गर्ने र प्रधानमन्त्रीसमक्ष बुझाउने गरेको उनी बताउँछन् ।

पन्तकाअनुसार अन्तिमरुप भने प्रधानमन्त्रीले नै दिने गरेका छन् । तर, अहिले प्रधानमन्त्री कार्यालयभित्र कसरी काम हुन्छ भन्ने आफूले बताउन नसक्ने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीका अभिव्यक्तिहरु विवादमा परेपछि संगठित संयन्त्र वा सम्बन्धित मन्त्रालयहरुले त्यसमा प्रस्ट पार्नुपर्ने हो ।

तर, धेरैजसो अवस्थामा आफ्नो अभिव्यक्ति विवादमा आएपछि प्रधानमन्त्री आफैं नै त्यसको बचाउ गर्दै हिँडेको पाइन्छ ।

जबकि, प्रधानमन्त्रीका कार्यालयका सल्लाहकारहरु तथा सम्बन्धित मन्त्रालयहरु त्यसमा जवाफदेही हुनुपर्ने नेता पन्तको धारणा छ ।

केही समयअघि संसदमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालेसमेत ‘प्रधानमन्त्रीले ठगेको’ अभिव्यक्ति दिएका थिए ।

विगतमा श्वेतपत्र जारी गरिएको विषयमा पनि सरकारले गलत तथ्यांक प्रयोग गरेको भन्दै प्रतिपक्षी दलले आपत्ति जनाएको थियो ।

अभिव्यक्ति एकपटकमात्र विवादमा पर्दा भने त्यसलाई सामान्य कमजोरी मान्न सकिन्छ । तर, पटक–पटक विवादमा परेपछि भने सम्बन्धित निकाय गम्भीर बन्नैपर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार