एपीएफलाई हराउँदै झापा ११ सेमीफाइनलमा

  नयाँ बुलन्द
0 Shares

पाँचथर : झापा ११ एफसी पाँचथरको फिदिममा जारी रुस्लान १०औँ फाल्गुनन्द गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । आज सम्पन्न पहिलो क्वार्टरफाइनलमा विभागीय टोली शसस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौँलाई ३–१ गोलअन्तरले पराजित गर्दै झापा अन्तिम चारमा प्रवेश गरेको हो ।

सोमबार सदरमुकाम फिदिमस्थित फिदिम माविको खेलमैदानमा सम्पन्न प्रतिस्पर्धामा झापाको जितका लागि कर्ण लिम्बुले व्यत्तिगत दुई गोल गरे । झापाका लागि पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल सम्भव भएको थियो ।

झापाली स्ट्राइकर कर्ण लिम्बूको कप्तानीमा उत्रेको झापा ११ ले खेलको पहिलो गोल गरे पनि जीत निकाल्न दोस्रो हाफ कुर्नु परेको थियो । खेलको २३औँ मिनेटमै कर्ण लिम्बूले गोल गरेर अग्रता दिलाए पनि एपीएफ मनिष लामाले ३२औँ मिनेटमा गोल गरेर बराबरीमा पु¥याए । तर, झापाका दिलेन लोक्तामले खेलको ३८औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । त्यस्तै, म्यान अफ दी म्याच घोषित कर्ण लिम्बूले खेलको अन्त्यतिर अर्को गोल गर्दै ३–१ को फराकिलो अन्तरमा जीत सुनिश्चित गरे । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

दर्शकको भरपुर समर्थन पाएको झापा आफ्ना नियमित फरवार्ड कर्ण लिम्बु, डिफेन्डर देवेन्द्र तामाङ, दिलेन लोक्ताम र गोलरक्षक मनोज प्रधानसहित मैदान उत्रिएको थियो । एपीएफले भने आफ्नो दोस्रो रोजाईका खेलाडीको सेट मैदान उतारेको थियो ।

मंगलबार विभागीय टोली त्रिभुवन आर्मी र आयोजक फिदिम स्पोर्टिङ क्लबबीच खेल हुने आयोजकका महासचिव पासाङ तामाङले जानकारी दिए । फिदिम स्पोर्टिङ क्लब र जिल्ला फुटबल संघ पाँचथरले संयुक्तरुपमा आयोजना गरेको गोल्डकपको विजेताले नगद ४ लाख र उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगितामा १० टिमले सहभागीता जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार