इलाम : इलामको सदरमुुकाम इलामबजारका व्यवसायी गोविन्द शर्मा ३ वर्षदेखि परेवाको सेवामा जुटेका छन् । प्रसिद्ध धार्मिकस्थल माइस्थानमा चढाइएका परेवालाई दैनिक चारो खुवाउने काम उनको दैनिकी नै बनेको छ ।
दिउँसो १२ बजेतिर इलामको चोक बजारको अंकित भण्डार नजिकै परेवाको थामिनसक्नु हुल देखिन्छ । आसपासका बिजुलीका तारदेखि पसलको काउन्टरसम्म घुइँचो लागेका परेवाले पसल सञ्चालक गोविन्द शर्मालाई कुरिरहेका हुन्छन् ।
३ वर्षदेखि परेवाको सेवामा आफूलाई समर्पित गरेका उनी दिनहुँ परेवालाई चारो खुवाउने भान्से बनेका छन् । प्रमुख धार्मिकस्थल माइस्थानको प्रसादको रुपमा रहेका यी परेवालाई चारो उपलब्ध गराउन केही संस्थाले सहयोग गरेका छन् ।
दिउँसोे १२ देखि १ बजेभित्रमा परेवालाई चारो दिनुपर्ने भएकाले कहिलेकाही ढिला भयो भने परेवाले शर्मालाई पछ्याउँदै पसलसम्मै पुग्छन् । आफूले सेवाभावले विगत ३ वर्षदेखि परेवालाई समितिले दिएको चारो खुवाउने जिम्मा लिएको उनको भनाइ छ ।
‘चारो खाने क्रममा परेवाले पछ्याउनेमात्र होइन, चोक वजारमा नै प्रतिक्षा गरेको देख्दा उनी यस कामप्रति झनै लालयित देखिन्छन् । सदरमुकाम क्षेत्रमा करिव ३ हजार ५ सय परेवा रहेको अनुमान छ ।
दैनिक चारो व्यवस्थापनकालागि माडवारी सेवा समितिले अक्षय कोष नै बनाएको छ । शर्माको गोदाममा एकै पटक ५० बोरा चारो खरिद गरेर राखिएको छ । समितिले विगतदेखि नै चोक बजारमा परेवालाई चारो हाल्ने व्यवस्था मिलाएको हो । कोषमा रहेको साढे ४ लाख रुपैयाँको व्याजबाट दैनिक १० किलो चारोको व्यवस्था भएको समितिका सदस्य रतन चौधरीले जानकारी दिए ।
बजार क्षेत्रमा रहेका काठे घरमा आश्रयस्थल बनाउदै आएका परेवा यस्ता घर विस्थापित हुन थालिएपछि समस्यामा छन् । परेवाका लागि भनेर माइस्थान क्षेत्रमा बनाइएका २ वटा घर र बजारका बचेका काठे घरमा परेवाको बसोबास रहँदै आएको छ ।imagekhabar