एकतप्पामा पक्की कूलो बन्दै

फाकफोकथुम : इलामको पश्चिमी क्षेत्रको फाकफोकथुम गाउँपालिकाको एकतप्पामा सबैभन्दा ठूलो सिंचाई कूलो निर्माण भईरहेको छ । यस कूलोले फाकफोकथुम गाउँपालिकाको वडा नं. ६ र ७ मा करिब एक हजार पाँच सय रोपनी जग्गा सिंचित हुने भएपछि यस क्षेत्रका कृषक उत्साहित भएका छन् ।

जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय इलामको तीन करोड ४४ लाखको लागतमा पक्की कूलो निर्माण भईरहेको छ । दुई वर्षदेखि कूलो निर्माण भईरहेको उपभोक्ता समितिका सचिव रामजी कोइरालाले बताए ।

विगतमै यो कूलो निर्माण हुनुपर्ने ढिलै भएपनि पक्की कूलो बन्न थालेपछि किसानलाई धेरै राहत पुग्ने अपेक्षा छ, समाजसेवी पुष्प श्रेष्ठले भने, ‘यो कूलोले हाङमासुली र एकतप्पाका धेरै कृषकलाई राहत पुग्छ ।’

देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिका बीचमा पर्ने ह्वेङ्मा खोलाको पानी सोझै पक्की कूलोमार्फत किसानको खेतसम्म ल्याउन लागिएको हो ।

१२ दशमलव १ किलोमिटर लामो सिंचाई कूलोको तीन हजार छ सय मिटर पक्की बनाउनुपर्नेछ । त्यसमध्ये करिब दुई हजार तीन सय मिटर निर्माण भईसकेको छ । बाँकी एक हजार सात सय मिटर पनि दुई महिनाभित्र सम्पन्न गरी चार किलोमिटरमा पानी चलाउने सचिव कोइराला बताउँछन् । त्यसबाहेक साढे नौ किलोमिटर कच्ची कूलो निर्माण गरेर यसै आर्थिक वर्षदेखि खेतबारीमा पानी पु¥याउने लक्ष्य रहेको उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर योङहाङ बताउँछन् ।

कूलोको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका ईञ्जिनियर दिनेशकुमार घिमिरेसहितको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा काम सन्तोषजनक रूपमै अघि बढिरहेको ई.घिमिरेले बताए । त्यस्तैगरी अनुगमन समितिका अध्यक्ष पुष्प श्रेष्ठ, केदार खनाललगायतले पनि कूलोको स्थलगत अनुगमन गरेका छन् ।

कूलोले साविक एकतप्पा गाविसका १, २, ६, ७, ८ र ९ नम्वर वडाका एक हजार पाँच सय घरधुरी लाभान्वित हुनेछन् ।  खेती गर्नका लागि आकाशेपानीको भर पर्नुपर्ने यहाँका किसानले कूलो निर्माण भएपछि राहतको महसुस गर्ने भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार