करोडौं खर्च गरेर बनाइएका सडक जीर्ण बन्दै

  नयाँ बुलन्द
0 Shares

धनकुटा : भत्किएका सडक निर्माणका नाममा वर्सेनि करोडौं रुपैयाँ खर्च भइरहेको छ ।

तर, गुणस्तरीय सडक निर्माण नहुँदा र संरक्षणमा चासो नराखिंदा करोडौं खर्च गरेर बनाइएका सडक जीर्ण बन्दै गएका छन् ।

नियमन गर्ने जिम्मेवार निकाय बेखबर जस्तै देखिन्छन् । त्यस्तै प्रवृत्तिको एउटा उदाहरण देखिन्छ कोशी राजमार्गको धनकुटास्थित सडकखण्ड ।

कोशी राजमार्गअन्तर्गत धनकुटास्थित सडक खण्डको विभिन्न ठाउँबाट अव्यवस्थित तरिकाले सहायक सडकसञ्जाल विस्तार गर्ने क्रममा यो राजमार्ग जीर्ण बन्न थालेको छ ।

राजमार्गको भेडेटारदेखि धनकुटाको हिलेसम्म  र त्यहाँबाट तेह्रथुमको टुटेदेउरालीसम्म राजमार्गको छेउबाट करिब सय भन्दा बढी सडक ट्रयाक खोलेका कारण माटोले नाली पुरेको छ ।

ढल सडकबाटै बग्दा राजमार्ग नराम्ररी क्षतिग्रस्त बनेको छ । राजमार्गवाट सडक ट्रयाक खोल्दा सडक डिभिजन कार्यालयसँग स्वीकृति लिनुपर्ने भएपनि कसैले लिएका देखिँदैन ।

यता सडक डिभिजन कार्यालय धनकुटाका सूचना अधिकारी अनुप साउद स्वीकृति नलिइ सडक निर्माण गर्नेलाई सडकमा पुगेको क्षति बराबरको क्षतिपुर्ति असुल गर्ने कानुन रहेको बताउँछन् ।

कानुन त छ तर त्यसबमोजिमको क्षतिपूर्ती कार्यालयले असुलेको भने छैन, राजमार्गवाट ट्रयाक खोल्दा नालीमा पक्की ढलान गर्नुपर्ने मापदण्डको पनि पालना हुन सकेको छैन ।

अर्कोतिर सडक तथा पुलको भारक्षमताअनुसार सवारी चलाउनुपर्ने व्यवस्थाको पनि कार्यान्वयन हुन सकेको छैन ।

जसले सडकमा क्षति पुग्दै गइरहेको छ । अहिले त गाउँगाउँमा स्थानीय सरकार स्थापना गरिएको छ ।

तिनीहरुले पनि यसतर्फ खासै चासो देखाउन सकेका छैनन्, धनकुटा नगरपालिकाका प्रवक्ता जमशेर आठपहरिया भने आफुहरुको क्षेत्राधिकारभित्रका सडक मात्र नियमन गरिरहेका दाबी गर्छन् ।

यो त एउटा उदाहरण मात्र हो । गुणस्तरहीन सडक बनाउने र सञ्चालनमा नियमन नगर्दा धेरै ठाउँका सडकको यस्तै दुदर्शा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार