धरहरा पुनःनिर्माणको बिहीबार शिलान्यास

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : वि.सं. २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले भत्काएको ४३ महिनापछि धरहरा पुनःनिर्माणको बिहीबार शिलान्यास गरिएको छ ।

भूकम्पले भत्किएको धरहराको भग्नावशेषलाई संरक्षण गर्दै त्यसको छेउमा भूकम्पप्रतिरोधात्मक २२ तले नयाँ धरहरा निर्माण गर्न लागिएको हो ।

धरहरा पुनःनिर्माणको शिलान्यास गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको टुप्पोमा चढेर वातावरणमैत्री काठमाडौं हेर्ने इच्छा व्यक्त गरे ।

उनले ‘अब बन्ने धरहराको टुप्पोबाट सुधारिएको सुन्दर काठमाडौं हेर्नुपर्छ’ भन्दै ज्येष्ठ नागरिकले पनि चढ्नसक्ने धरहरा बनाइने बताए ।

प्रधानमन्त्री ओलीले धरहरा पुनःनिर्माण विकासकै लहरको एक हिस्सा भएको जिकिर गरे ।

‘इतिहास झल्कने र आधुनिकता टल्कने धरहरा बन्ने’ प्रधानमन्त्री ओलीको भनाइ छ ।

करिब तीन अर्ब ४८ करोड रुपैयाँको लागतमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको समन्वयमा निर्माणकार्य अघि बढेको हो । दुई वर्षभित्र निर्माणसक्ने लक्ष्य राखिएको छ ।

यसअघि, २०७२ फागुन २ गते धरहरा परिसरमा प्रधानमन्त्री ओलीले ‘म बनाउँछु मेरो धरहरा’ अभियान सुरु गरेका थिए । तर, त्यो अभियान अघि बढ्न सकेको थिएन ।

४२ रोपनी क्षेत्रफलमा बन्ने २२ तले धरहराको स्वरूप भीमसेन थापाले बनाएको ११ तले धरहराजस्तै हुनेछ । दुईओटा लिफ्टसहित यसको उचाइ करिब ७२ मिटर हुनेछ ।

भूकम्पबाट बचेको धरहरालाई ‘भुइँचालो स्मारक’कारूपमा सिसाको फ्रेमले छोपेर राखिनेछ ।

शिलान्यास कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत मन्त्री, नेताहरूको उपस्थित थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार