काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बुधबारको बैठकमा ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ प्रस्तुत् हुनेक्रममा विरोध जनाएको छ ।
बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उक्त अध्यादेश प्रस्तुत् गर्ने समयमा कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए ।
कांग्रेस सांसदहरुको विरोधपछि सभामुख कृष्णबहादुर महराले सांसद दिलेन्द्रप्रसाद बडूलाई बोल्न समय दिएका थिए ।
सांसद बडूले सरकारले संसद अधिवेशन सुरु हुने पूर्वसन्ध्यामा छोटो समय पनि प्रतीक्षा नगरी उक्त अध्यादेश ल्याएकोप्रति आपत्ति प्रकट गरे ।
सरकारको यो कदम लोकतान्त्रिक पद्दतिविरुद्ध रहेको बताउँदै उनले भने–‘अध्यादेश सदनमा पेस हुनुअगावै एकातिर सामान्य प्रशासनमन्त्रीले प्रेस सम्मेलन गरी यही अध्यादेश लागू हुन्छ भनेर घोषणा गर्ने र अर्काेतिर सदनमा प्रस्तुत् गर्नु विरोधाभास छ ।’
अध्यादेशका व्यवस्थाप्रति विरोध जनाउँदै कर्मचारी आन्दोलित भएको र कर्मचारीको वृत्ति विकास अवरुद्ध हुने गरी अध्यादेश आएको भन्दै कांग्रेस नेता बडूले ‘यो प्राकृतिक न्यायको सिद्धातविपरीत छ’–भने ।
उनले तत्काल सरकारले संघ, प्रदेश र स्थानीय तह निजामती सेवा ऐन पेस गरी कर्मचारीका समस्या सामाधान गर्नुपर्ने धारणा व्यक्त गरे ।
संघीय संसदको हिउँदे अधिवेशन बुधबारदेखि सुरु भएको हो ।