इलाम : प्रदेश १ का चार जिल्ला इलाम, झापा, पाँचथर र ताप्लेजुङका समग्र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पुष ५ बाट इलाममा जारी प्रथम ‘मेची क्षेत्र पर्यटन महोत्सव’ आज छैठौ दिन पनि जारी छ ।
इलाम पर्यटन प्रर्वद्धन सरोकार समितिको आयोजनामा १२ दिने महोत्सव निरन्तर जारी छ । इलाममा हालसम्म आयोजना भएको मध्ये सबैभन्दा ठूलो मेची क्षेत्र पर्यटन महोत्सवमा झापा, इलाम, पाँचथर र ताप्लेजुङका पर्यटन व्यवसायी र उद्योगीहरुको सहभागिता रहेको छ ।
इलाम सदरमुकामको ठूलो टुँडिखेलमा १६ पुससम्म हुने महोत्सवमा चार जिल्लाका व्यवसायीयले आआफ्नो जिल्लामा उत्पादित सामग्रीको प्रदर्शन गरिरहेका छन भने महोत्सवमा विभिन्न ६६ वटा स्टलहरु राखिएका छन् । यी स्टलहरुमा चार जिल्लामा उत्पादित कृषिजन्य, औद्योगिक तथा व्यवसायिक सामग्रीहरु प्रदशर्नीमा राखिएका छन् । यसका साथै चार जिल्लामा बसोबास गर्ने विभिन्न जातजातिको लोप हुन लागेको कला संस्कृति, जातीय खानाको परिकारहरु, दुर्लभ जीवजन्तु चौंरीगाई र पर्यटकीय क्षेत्रको प्रचारप्रसार सामग्री प्रदर्शनीमा राखिएका छन् ।
महोत्सवमा ५० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएकोमा आज सम्ममा मात्रै आन्तरिक तथा बाह्य पर्यटक गरेर ३० हजार बडिले अवलोकन गरिसकेको आयोजक इलाम पर्यटन प्रर्वद्धन सरोकार समितिका महासचिव देवी पौडेलले जानकारी दिए । साथै सोही प्रसँगमा इलाममा रहेका होटल,लज ब्यवसाय समेत अन्य सिजनको तुलनामा महोत्सवको समयमा भरीभराउ रहेको पौडेलले जानकारी दिएका छन् । झापा, पाँचथर, ताप्लेजुङ र इलाममा पालैपालो आयोजना हुने ‘मेची क्षेत्र पर्यटन महोत्सव’ को सुरुआत इलामबाट भएको हो । महोत्सवमा नेपालका विभिन्न क्षेत्रका साथै भारतको सिक्किम, दार्जिलिङ र पश्चिम बंगालबाट समेत पर्यटकहरु इलाम आएका छन् ।
महोत्सवमा विभिन्न कार्यक्रमहरु समेत आयोजना भईरहेको छ भने राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुतीमा महोत्सबमा आउने पर्यटकहरु रमाईलो गर्ने गरेको आयोजक समितिका अध्यक्ष बिजय राईले जानकारी दिए । यस्तै महोत्सबको मुख्य आकर्शण लेकमा हुने चौरीगाई र रेड पान्डा रहेकोले बिशेष गरेर पर्यटकहरु सेल्फी खिचेर मज्जालिने गरेको समेत राईले बाताए ।
महोत्सवले साविकका मेचीका चार जिल्लाका पर्यटकीय स्थानको प्रचारप्रसारका लागि विशेष योगदान पुर्याउने आयोजकको अपेक्षा छ । इलाममा अन्तुडाँडा, कन्याम, सन्दकपुर, सानी पाथिभरा, माईपोखरी, गजुरमुखी, माङमालुङ, सिद्धिथुम्का, माङसेबुङ, सलकपुर, छिन्टापु, टोड्के झरनालगायतका पर्यटकीय गन्तव्यहरु छन् । झापामा केचनकवल, अर्जुनधारा, सतासीधाम, जामुनखाडी सिमसार क्षेत्रलगायतका पर्यटकीय स्थलहरु छन् ।
पाँचथरमा जोरपोखरी, सिलौटी, हिलिहाँङ दरबार, छिन्तापु, तिम्बुङ पोखरी, साधुटार, पौवा भञ्ज्याङलगायतका गन्तव्यहरु छन् । ताप्लेजुङमा भने प्रसिद्ध धार्मिकस्थल पाथिभरा देवी मन्दिर, कंचनजंघा हिमश्रृंखला, तिम्बुङपोखरी, मिल्के जलजले क्षेत्रलगायतका स्थानहरु पर्यटकीय गन्तव्यका रुपमा चर्चित छ । यस्का साथै आयोजक समितिले आन्तरिक तथा बाह्य पर्यटकलाई एकपटक पर्यटकिय स्थलहरुको अवलोकन गर्न समेत आग्रह गरेको छ ।