इलाम : इलाममा संचालन भइरहेको प्रथम मेची क्षेत्र पर्यटन महोत्सवको स्टलबाट गएराती सामान चोरी भएको छ ।
फिटवेल गार्मेन्ट उद्योग प्रालिको स्टलबाट लत्ताकपडा चोरी भएको हो । उनको स्टलबाट करिब ४० हजार रुपैयाँ बराबरको चोरी भएको संचालक सरोज मैनालीले बताए ।
प्याकिङ गरेको कपडा स्टलको माथिल्लो भाग च्यातेर चोरी भएको उनले बताए । कपडा चोरी भएपछी आयोजकलाई जानकारी गराएपनि आयोजकले खासै चासो नदिएको गुनासो सुनाए ।
‘बेलुका कपडा थन्क्याएर आराम गर्न गएँ । विहान आउँदा कपडा चोरी भएको थाहा पाउनसाथ आयोजकसँग हारगुहार गरे । तर खासै गम्भीरतापूर्वक लिएको पाइन’ संचालक मैनालीले भने, ‘यत्रो सामान हराएको छ । आयोजकले क्षतिपुर्तीको व्यवस्था गर्नुपर्दछ ।’
मैनालीले आयोजककोख कमजोर व्यवस्थापन र फितलो सुरक्षा व्यवस्थाका कारण यस्तो घटना भएको दावी गरे । मैनाली काठमाडौंबाट व्यापारकै लागि इलाम आएका हुन् । उनले १० हजार रुपैयाँ भाडामा एउटा स्टल लिएका छन् । सामान नै चोरी भएपछि स्टलको भाडा कसरी तिर्ने भन्ने चिन्ताले पिरोल्न थालेको उनले बताए ।
मैनालीको मात्र होइन । गएराती अन्य दुई कपडा पसल र एक फलफुल प्याकेजिङमा समेत चोरी भएको छ । सँगै रहेको कान्ता श्रेष्ठको दुईवटा कपडा पसल र सुभारम्भ फलफूल प्याकेजिङबाट समेत चोरी भएको उनीहरुले बताएका छन् । तर कति सामान चोरी भएको हो भन्ने चाँही किटन नभएको उनीहरुको भनाइ छ । साँझ प्याकिङ गरेको राखिएको सामान चोरी भएको विहान मात्र थाहा पाएका थिए ।
यता महोत्सव आयोजक समितिले भने सुरक्षा व्यवस्थामा केही कमजोरी भएपनि सोमबारदेखि सुधार गरेको जनाएको छ । आयोजक इलाम पर्यटन प्रवर्द्धन सरोकार समितिका महासचिव देवी पौड्यालले हिजोसम्म सुरक्षा व्यवस्था कमजोर भएपनि आजदेखि सुरक्षा व्यवस्था कडा बनाइएको बताए । उनले सामान चोरी भएको सत्य भएपनि क्षतिपूर्तिको विषषमा अहिले केही भन्न नसकिने बताए । उनले सामान चोरी भएको र क्षतिपूर्ति माग सम्बन्धमा बैठक बसेर मात्र निर्णयमा पुग्ने बताए ।
भिडियो हेर्नुहोस् :