
फाकफोकथुम : गाउँपालिका तथा वडास्तरबाट गतवर्ष सञ्चालन भएका योजनाहरूमा त्रुटी देखिएपछि इलामको फाकफोकथुम गाउँपालिकाले उपभोक्ता समितिका पदाधिकारीहरूलाई प्रशिक्षण दिन सुरू गरेको छ ।
सडक, विद्युत, खानेपानीलगायतका निर्माण योजना सञ्चालन गर्न गठन भएका उपभोक्ता समितिका पदाधिकारीहरूलाई गुणस्तरीय योजना निर्माण सम्पन्न गर्न शनिवार लुम्देमा उपभोक्ता समितिका पदाधिकारीहरूलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।
गतवर्ष अर्थात जननिर्वाचितहरूको पहिलो वर्ष भएकाले पनि धेरै योजनाहरूमा त्रुटी देखिएपछि यसपाली योजना सञ्चालन पूर्वनै गुणस्तरीय योजना निर्माण गर्न समितिलाई प्रशिक्षित गराउन थालिएको फाकफोकथुम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले बताए ।
पहिलो चरणमा गाउँपालिकाका सात वटै वडामा सञ्चालन हुन लागेका ५० वटा उपभोक्ता समितिका पदाधिकारीलाई प्रशिक्षण दिन सुरू गरिएको हो । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा प्राविधिकहरूसहितको टोलीले प्रशिक्षण दिन थालेको हो ।
गाउँपालिका उपाध्यक्ष सरस्वती राई (सरु) ले उपभोक्ता समितिले निष्कलङक भएर उदाहरणीय काम गर्नुपर्नेमा जोड दिइन् । गाउँपालिकाले एउटा वडामा एउटा उपभोक्ता समिति महिला मात्रैको बनाउनुपर्ने अनिवार्य गरेको छ, यसले महिला दिदीबहिनीहरूका सुनौलो अवसर श्रृजना गरेको छ, राम्रो काम गरेर देखाउनुभयो भने आगामी दिनमा महिलाहरुले पनि नेतृत्व लिन सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्न आग्रह गरीन् ।
फाकफोकथुम गाउँपालिका वडा नं. १, २, ३ र ५ मा प्रशिक्षण दिईसकिएको छ । ‘गतवर्ष धेरै योजनामा उपभोक्ता समितिको काममा गल्ती देखियो, यसपाली त्यस्ता गल्ती नदोहोरिउन तथा काम चुस्त, दुरूस्त र गुणस्तरीय हुन भन्ने हाम्रो अपेक्षा हो,’ गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले भने, ‘समृद्ध फाकफोकथुम बनाउन उपभोक्ता समितिनै सक्रिय हुनुपर्छ ।’ विकासको मेरूदण्ड सडकनै भएकाले उपभोक्ता समितिका पदाधिकारीहरूलाई नमुना सडक निर्माण गर्न आग्रह समेत उनले गरे ।
राम्रो काम गर्ने उपभोक्ता समितिलाई गाउँपालिकाले यसवर्षदेखि सम्मान गर्ने समेत अध्यक्ष श्रेष्ठको भनाई छ ।
उपभोक्ता समिति गठन, परिचालन सम्वन्धी कार्यविधि २०७५ बनाएर गाउँकार्यपालिकाको बैठकले विकास योजनाहरूको निर्माण गुणस्तरीय बनाउन उपभोक्ता समितिका पदाधिकारीहरूलाई प्रशिक्षण दिन सुरू गरिएको प्रशासकीय अधिकृत सुवेदी बताउँछन् ।
प्रशिक्षण कार्यक्रममा प्रशासकीय अधिकृत सुवेदीले उपभोक्ता समितिको गठन प्रक्रिया, योजनाको लागत अनुमान, योजनाको सम्झौता, रकम निकासाका बारेमा समितिका पदाधिकारीहरूलाई जानकारी गरँउ । विगतमा प्रशिक्षण नगर्दा उपभोक्ता समितिहरूले फाइलमा गरेको समस्याका कारण आन्तरिक लेखा परीक्षणमा धेरै झमेला व्यहोर्नुप¥यो, त्यो समस्या अब नदोहोरियोस भन्ने उद्देश्य हो यो प्रशिक्षणको’ उनी भन्छन्,‘समितिले आफ्नै गाउँ र ठाउँको विकास सम्झेर काम गर्ने हो भने योजना गुणस्तरीय बन्छ ।’
गाउँपालिकाका ईञ्जिनियर कुशल खनालले योजनाको लगत स्टमेट अनुसार कुनै पनि कागजात नपुगेको खण्डमा योजनाको भुक्तानीका लागि आफूले सिफारिस नगर्ने बताए । गतवर्षका योजनामा प्राविधिकको सङ्ख्या कम भएकाले पनि त्रुटी भएको हुनसक्छ तर यसपाली त्यस्तो समस्या नहोस् भनेर गाउँपालिकाले ईञ्जिनियर, सव–ईञ्जिनियरलगायत पाँच जना प्राविधिकको व्यवस्था गरेको छ ।
वडा नं. ५ का वडाध्यक्ष सिद्धमान आलेको अध्यक्षतामा भएको कार्यक्रममा असिसटेन्ट सव ओभरसियर केशव पौडेल, विभिन्न उपभोक्ता समितिमा आवद्ध पदाधिकारीहरुले आ–आफ्नो विचार राखेका थिए ।
यसवर्ष पहिलो चरणमा सञ्चालन हुने योजनाहरूको उपभोक्ता समिति गठन भईसकेका छन् । गठित समितिले वडाको सिफारिसमा योजनाको सम्झौता गरेर काम सुरू गर्ने जनाएका छन् ।
























































