काठमाडौं : नेपाली कांग्रेसमा ७ सहमहामन्त्री हुने गरी पदाधिकारी विवाद टुंगिएको छ ।
अब कांग्रेसको पदाधिकारी संख्या १३ पुग्ने भएको छ । लामो समयको विवाद पछि शीर्ष नेताहरुले सहमहामन्त्रीको संख्या ७ पुर्याउने सहमति गरेका छन् ।
सहमहामन्त्रीसहित सबै पदमा निर्वाचित हुन पर्ने र केन्द्रीय समिति १ सय ६१ सदस्यीय हुने गरी सहमति जुटेको स्रोतले जनाएको छ ।
यसअघि एक उपसभापति र एक महामन्त्री सभापतिले मनोनित गर्न पाउनुपर्ने संस्थापन पक्षको प्रस्तावलाई भने रामचन्द्र पौडेललगायत समूहले अस्वीकार गरेको थियो।
स्रोतका अनुसार सहमतिपछि उपसभापति, महामन्त्री दुई–दुई जना तथा प्रत्येक प्रदेशबाट समावेशिताको आधारमा एक–एक जनाको दरले सह–महामन्त्री रहने भएका छन्। यी सबै पदका लागि निर्वाचन गर्न कांग्रेस नेतृत्वमा सहमति जुटेको हो।
यसअघि भएको सहमतिअनुसार पदाधिकारीमा समावेशी प्रतिनिधित्व नभएको भन्दै केन्द्रीय समितिको बैठकमा विवाद भएपछि ७ सहमहामन्त्री बनाइने निर्णय भएको हो।
महिला, मधेशी, मुस्लिम, आदिवासी जनजाति, दलित, खस–आर्य र अल्पसंख्यक तथा अपाङ्गका तर्फबाट एक–एक जना समावेश गरी सहमहामन्त्री बनाइने भएको छ।