इलाम : इलामको सुर्योदय नगरपालिकाको कन्याम क्षेत्रमा कन्याम चिस्यान तथा प्रशोधन केन्द्र स्थापना भएपछि दुग्ध किसान लाभान्वित भएका छन् । २०६८ सालमा स्थापना भएको उक्त केन्द्रबाट अहिले कन्यामका ८ सय १५दुग्ध किसान लाभान्भित भएका छन् ।
कन्याम चिस्यान तथा प्रशोधन केन्द्र स्थापना हुनुअघि कन्यामका दुग्घ किसानहरुले आफूले उत्पादन गरेका दूध, दुग्ध सहकारीमा संकलन गर्ने गरेका थिए । तर चिस्यान तथा प्रशोधन केन्द्र नहँुदा उनीहरुले ठूला समस्याहरु भोग्नु परेको थियो । फलस्वरुप १० वटा दुग्ध र कृषि सहकारी मिलेर केन्द्रको स्थापना गरिएको हो ।
यसअघि यहाँ उत्पादित दूध स्थानीय सहकारीमा संकलन गर्ने गरेका थिए । अहिले केन्द्रमा संकलन गर्न थालेपछि प्रत्येक १५ दिनमा रकम भुक्तानी हुने गरेको र गुणस्तर अनुसार मुल्य पाउने भएकाले धेरै फाइदा भएको स्थानीय रीताराज पौडेलले बताए । ‘३० देखि ३५ लिटरसम्म दैनिक दूध संकलन गर्छु, मूल्य पनि राम्रै पाएको छु’ पौडेल भन्छन्, ‘तर बेलाबेलामा हुने मिल्क होलिडेले भने दिक्क बनाउँछ ।’
दुग्ध किसानलाई आफ्नो दूधको गुणस्तर अनुसार मुल्य प्रधान गरेको, बेलाबेलामा कृषकलाई तालिम दिने गरेको, उन्नत किसिमको घाँसको विउ वितरण, नश्ल सुधार तालिम साथै गाइको विमा समेत गरिने सुविधा प्रदान गर्ने गरेको कन्याम दुग्ध चिस्यान तथा प्रशोधन केन्द्रका व्यवस्थापन समितिका सचिव ईश्वर घिमिरेले बताए ।
अहिले उक्त केन्द्रमा ८ सय १५ किसाले उत्पादन गरेको ३ हजार लिटर दुध संकलन हुन्छ । संकलित दूध चिस्याएर स्थानीय बजारका साथै झापा र विराटनगरका बजारमा बेच्ने गरेको घिमिरेले बताए ।यसका साथै कम्तीमा १० लिटर दूध निरन्तर ल्याउने किसानलाई केन्द्रले नगद १० हजार सहित पुरस्कार समेत दिने गरेको छ । गत वर्ष उत्कृष्ट किसान बन्न सफल ले
खनाथ खड्काले यसरी पुरस्कृत हुदाँ अझ जोश बढ्ने, थप मेहनत गर्न प्रेरणा मिल्ने गरेको बताउँछन् । ‘यसरी पुरस्कृत हुँदा झनै जोस जाँगर बढ्दो रहेछ । यसले मालाई अझ मेहनत गर्ने हौसला दिएको छ’ खड्काले भने ।
हाल इलाममा १० वटा दुध चिस्यान केन्द्र संचालमा छन् । कन्याम दुग्ध चिस्यान तथा प्रशोधन केन्द्र इलाम जिल्लाकै पहिलो सहकारी सहकारी मिलेर बनेको पहिलो चिस्यान केन्द्र हो ।
अहिले दूध संकलन र चिस्याउने काम मात्र हुँदै आएपनि निकट भविष्यमा प्रशोधनको काम पनि संचालन गर्ने योजना रहेको व्यवस्थापन समितिका सचिव घिमिरे बताउँछन् ।
अहिले केन्द्रसँग २ करोडको जगेडा कोष, १ करोडको आफ्नै भवन साथै उन्नती परियोजनाको ५० प्रतिशत सहयोगमा केन्द्रलाई आवश्यक पर्ने मेशिनरी सामाग्री र दूध संकलन गर्नको लागि दूध टयाङकर छ ।
इलाममा वार्षिक १ लाख २५ हजार १सय ४८ मेट्रिकटन दूध उत्पादन हुने गरेको छ । जिल्लामा दूध दिने गाईको संख्या ४५ हजार ८५ र भैंसी ७ हजार ३ सय ४८ रहेको छ ।