इलाम : इलाम जिल्लाका अधिकांश क्षेत्रमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । सुन्तला धेरै उत्पादन हुने भएकाले ‘गोल्डेन भ्याली’ उपनाम पाएको रोङको जिर्मले स्थित सलकपुरमा पनि सुन्तला उत्पादन घट्दै गएको छ ।
सुन्तलाको पकेट क्षेत्रका रूपमा चिनिएको सलकपुरमा गत वर्षको तुलानामा आधा उत्पादन घटेको किसानहरुले बताएका छन् ।
मौसमी रोग, किराको प्रकोप, सुन्तलाको चिचिला लागेका बेला असिना आउनु र कृषकलाई सुन्तलाको मलखाद र विषादी प्रयोगको ज्ञान नहुनुले पनि उत्पादन घटेको कृषकहरु बताउँछन् । पुराना बोटमा रोगको संक्रमण डढेलोजस्तो सल्किँदै गएको छ । यस वर्षे ७० प्रतिशतसम्म उत्पादन घटेको रोङका कृषकले बताएका छन् ।
सुन्तला फल्न थालेपछि घरघर आएर बगान नै बिक्री गरिने यो स्थानमा अधिकांश बगानको मोल आधा मात्र गरिएको स्थानीय टंक थापा बताए । थापाका अनुसार गत वर्ष १० लाख रुपैयाँमा बिक्री भएका सुन्तलाका बगान यो वर्ष मुस्किलले ५ लाख रुपैयाँमा मात्र बिक्री भएको छ ।
पछिल्लो समय सुन्तलामा देखिएको सिट्रस ग्रिनिङ रोगका कारण सुन्तला टुप्पोबाट सुक्दै जाने, पात पहेंलिने र बोटै पूरै सुक्ने समस्याले सुन्तलाको उत्पादन घटेको हो ।
सलकपुरमा मात्र हैन जिल्लाको सबैभन्दा बढी सुन्तला उत्पादन हुने इलामनगरपालिका, नामसालिङ, सोयाङ, गोदकलगायत स्थानमा सुन्तलाको उत्पादनमा कमी आएको छ । जिल्लामा ३ सय ९ हेक्टर क्षेत्रफलमा सुन्तलाको बगान रहेको छ ।