इलाम : सरकारी निकायबाट प्रभावकारी रुपमा बजार अनुगमन नहुँदा फेरी इलाम बजारमा तरकारीको भाउ एकाएक महँगिएको छ । दशैं, तिहारको समयमा फाट्टफुट्ट बजार अनुगमन भएपनि त्यसपछि बजार अनुगमन नगरीदा ब्यपारीले मनपरी ढंगबाट तरकारी बेच्न थालेपछि उपभोक्ताहरु मारमा परेका छन् ।
यतिबेला बजारमा खाद्यान्न, तरकारी, फलफूल, माछा मासु लगायतका उपभोग्य वस्तुको बजारभाउ बढ्नुपर्ने कुनै कारण छैन । तरकारी उत्पादनमा कुनै समस्या नदेखिएपनि बजार मूल्य भने मनपरी छ । एउटै तरकारीको मूल्य ठाउँपिच्छे फरक–फरक छ ।
विना कुनै कारण तरकारीमा एकाएक मूल्यबृद्धि भइरहँदा सरोकारवाला निकाय भने मौन छ । बजारमा क्रमिक रुपमा अस्वाभाविक तरिकाले मूल्यबृद्धि भइरहेको छ । यस बिषयमा सम्बन्धित निकाय नै बेखबर छ । जसकारण आम उपभोक्ता मर्कामा परेका छन् । बजारमा तरकारीको मुल्यमा मनपरि हुँदा पनि सम्बन्धित निकायले अनुगमन नगर्दा अचम्म परेको आमचोक घर भई सदरमुकाममा बसेर अध्ययन गर्दै आउनु भएका बिष्णु राईले बताए ।
एउटा पसलमा प्रतिकेजि ७० रुपैंयाँले किनेको आलु पल्लो पसलमा सोध्दा त्यहि आलुको मूल्य प्रतिकेजि ८० रुपैंयाँ रहेको छ । यसरी हेर्दा ब्यपारीले पल पलमा उपभोक्ता ठगिरहेको उनको भनाई छ । बजारमा ल्याइएका तरकारी गुणस्तरको समेत नहुने गरेको उपभोक्ता बताउँछन् ।
धेरै दिनदेखि स्टकमा राखिएका साग सब्जी, ब्रोकाउली, बन्दा, टमाटर, भाण्टा लगायतका तरकारीहरु लामो समयदेखिको ब्यपारीले राखेका छन् । ब्यबसायिहरुले भने कृषकहरुबाट तरकारी खरीद गर्दा फरक फरक मूल्य पर्न जाने गरेकोले मूल्यमा एकरुपता हुन नसकेको बताएका छन् ।
बजारमा एउटै तरकारीको मूल्य ठाउँ नै पिच्छे २० देखि २५ रुपैयाँको फरक पर्ने गरेको छ । समय समयमा बजार अनुगमन नहुँदा उपभोक्ताहरु तरकारी खरीदमा ठगिरहेका छन् । जिल्ला प्रशासन कार्यालय इलामले भने आफूहरुले समय समयमा अनुगमन गरीरहेको जनाएको छ । अहिले बजारमा स्थानीय जातको आलुको मूल्य प्रतिकेजि ८० देखि एकसय, साग प्रतिमुठा २० देखि ३० रुपैंयाँ, स्कुसको जरा प्रतिकेजि एकसय देखि एकसय २० रुपैंयाँसम्म रहेको छ । यो संगै अन्य तरकारीको भाउ पनि धेरै अकासिएको छ ।