तराई क्षेत्रमा सुरक्षा चुनौती थपिँदै

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : पछिल्लो समय भइरहेका आपराधिक घटनाहरुले तराई क्षेत्रमा सुरक्षा चुनौती थपिँदै गएको देखिएको छ ।

केही समययता शृंखलाबद्धरुपमा भएका आपराधिक घटना र पर्साको जगरनाथपुरका प्रहरीलाई भारतीयले कुटपिट गरी हतियारसमेत लुट्नुले सुरक्षा व्यवस्थापनमा गम्भीर हुनुपर्ने संकेत दिएको हो ।

तराई क्षेत्रमा आपराधिक घटनामा बढोत्तरी देखिएको छ । जसमध्ये मंगलबार पर्साको जगरनाथपुर गाउँपालिका–१, पाडेपुरमा रहेको प्रहरीचौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक विसुनदेवा यादवसहित तीनजनालाई कुटपिट गरी भारतीय तस्करहरुले बन्दुक लुटेका छन् ।

कुटाइले प्रहरीजवान अर्जुन चौधरी गम्भीर घाइते भएका छन् ।

सीमावर्ती पाडेपुर गाउँबाट हुने गरेको पेट्रोल र डिजेलको तस्करी रोक्न खोज्दा तस्करहरु प्रहरीमाथि नै जाइलागेका थिए ।

यो त पछिल्लो घटनाको एउटा नमुनामात्र हो । यसभन्दाअघि पनि तराईका विभिन्न जिल्लामा यस्ता आपराधिक घटना ठूलो संख्यामा भइरहेका छन्  ।

गत मंसिर २४ मा सुनसरीको कोसी गाउँपालिका–७, मुसहर बस्तीमा डकैती गर्न आएको भारतीय समूह र प्रहरीबीचको झडपबाट एक भारतीयको मृत्यु भयो ।

त्यसअघि,  गत मंसिर ७ मा कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा गोली प्रहारबाट स्थानीय दीपेन्द्रकुमार चौधरीको हत्या भयो ।

त्यसैगरी, गत मंसिर ५ गते सुनसरीको दुहबीस्थित जयबाबा इँटा उद्योगका म्यानेजर फिदा हुसेनको गोली प्रहारबाट हत्या भयो ।

‘मर्निङवाक’मा गएको समयमा मोटरसाइकलमा आएका दुईजना अज्ञात व्यक्तिले हुसेनमाथि गोली प्रहार गरेका हुन् ।

एउटा घटना सेलाउन नपाउँदै अविच्छिन्नरुपमा भइरहेका घटनाले नागरिकको जीउधनको सुरक्षामा चुनौती थपिँदै गएको देखिएको छ ।

एकातिर खुला सीमाका कारण भारतीय अपराधीको प्रवेश सहज देखिनु र अर्कोतिर सुरक्षा निकायमाथिसमेत आक्रमण हुनुले तराईको सुरक्षा व्यवस्थामा थप गम्भीर र चनाखो बन्नुपर्ने अवस्था देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार