काठमाडौं : मंसिर २९ गतेबाट जारी काँग्रेस महासमिति बैठकमा नेताहरुबीचमा हात हालाहालको स्थिति सृजना भएको छ । काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको हातबाट माइक खोसेपछि हात हालाहालको स्थिति सृजना भएको हो ।
मंगलबारको बैठकमा महासमिति सदस्यहरुले केन्द्रीय समितिबाट विधान पारित नभई छलफल अघि नबढ्ने भनेर अडान लिँदै आएका थिए । सभापति केसीले भने, ‘म बोल्दै थिएँ । एकाएक डा. महत आएर मेरो माइक खोस्न थाल्नुभयो । त्यसपछि धकेलाधकेल भयो । त्यसक्रममा माइक नै फुटेको छ ।’ उनले थपे- ‘विधान नआएसम्म बैठक अघि बढ्दैन भन्नेमा महासमिति सदस्यहरुबीच एकमत रहेको छ ।’
सह-महामन्त्री महत र केसीबीचको विवादमा अधिकाँश महासमिति सदस्यहरुले केसीको पक्ष लिएका छन् । हात हालाहालकै स्थिति आएपछि अहिले बैठक स्थगित गरिएको छ । पूर्व निर्धारित कार्यतालिका अनुसार काँग्रेसको महासमिति बैठक आज सकिने थियो तर, नेताहरुबीचको झगडा र असमझदारीले बैठक लम्विदै गएको छ ।
तर यस वियषमा कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले अनलाईन समाचारहरुबाट जुन किसिमले समाचारहरु प्रशारण भए त्यस्तो नभएको र सामान्य वादबिवादको श्रृजना भएको बताए ।
उनले भने “माइक नै फुटेको होईन, रिमोटवाला माइक भएकाले भुँइमा खसेको हो ।” फरक प्रसंङ्गमा प्रवक्ता शर्माले बैठक चलीरहेका बेला हात हालाहाल नै नभएको समेत जानकारी दिए ।