गोदकमा सिचाइ सुबिधा भएपछि सागसब्जी लटरम्म

  नयाँ बुलन्द
7 Shares

इलाम : इलाम नगरपालिकाको गोदक १० मा पहिले कोदो, मकै, फापर लगायतका बालीहरु फल्थे। सिंचाई नभएका कारण अरु खेती हुँदैन थिए। जमिन सुक्खा थियो। बारी र सुक्खा ठाउँमा मात्रै लाग्ने बाली हुन्थे। थोरै ठाउँमा मात्रै सिंचाई हुन्थ्यो।
पानी ल्याउनै सकिदैनथ्यो, तर पछिल्लो समय गोदकमा हरियाली देखिन्छ । सागसब्जी, काउली, सिमी, टमाटर लटरम्म फलेका छन् । सरकारले समुदायद्धारा व्यवस्थित कृषि क्षेत्र सिंचाई परियोजना ल्याएपछि अहिले यो ठाउँ पर्याप्त पानी आएको छ ।

गोदककी सीता गौतमका अनुसार, सुरु सुरुमा पक्की कुलो थिएन। १०/२० दिन लगाएर बनाएको कुलो पहिरोले बगाउँथ्यो। पहिरो जाने ठाउँमा कुलो भएका कारण पहिरो गइरहन्थ्यो। अहिले यस्ता ठाउँहरु पहिचान गरेर पक्की संरचना निर्माण गरिएको छ, जसका कारण सहज रुपमा पानी ल्याउन सकिएको छ।

पानी पर्याप्त आएका कारण नगदेवालीहरु लगाउने गरेको गौतमले बताइन् । अहिले तरकारीहरु उत्पादन गरेर इलाम, चारआली, विर्तामोड लगायतका बजारसम्म जाने गरेका छन्। जति उत्पादन गरेपनि बजारको समस्या नभएको उनले जानकारी दिइन्।

स्थानीय चन्द्रमणी गौतमका अनुसार, पहिले झापाबाट चामल, गहुँ ल्याएर खानुपर्थ्यो, अहिले इलाममा नै राम्रो उत्पादन हुन्छ। अहिले यहाँबाट उत्पादित खाद्यान्न झापाका बजारसम्म पुग्ने गरेका छन् ।

अधेरी करपोक खोलाबाट १ हजार ९ सय ४५ मिटर मूख्य कुलो निर्माण गरिएको छ। जसबाट पानी वितरणका लागि ४ हजार १ सय ४० मिटर सहायक कुलो निर्माण गरिएको छ। केहि महिनाभित्रै यो आयोजना पुरा हुँदैछ।

एसियाली विकास बैंकको सहयोगमा निर्माण गरिएको यो कुलो कमजोर भुगोल भएका ठाउँमा मात्रै पक्की संरचना निर्माण गरिएको छ। १ हजार ४ सय २५ मिटर कुलोमा पक्की संरचना बनाइएको छ भने १ सय ४२ मिटरमा पाइप राखिएको छ। १२ वटा आउटलेट निर्माण गरिएका छन्। यो सिंचाई आयोजनाले करिव ९० हेक्टर जमिन सिंचित गर्छ। जसको कुल लागत करिव ३ करोड ८८ लाख रुपैयाँ अनुमान गरिएको छ।

यहाँका किसानहरु मिलेर अधेरी करफोक थपेनी भन्ज्याङ सिंचाईजल उपभोक्ता समिति निर्माण गरेका छन्। जसले पानी प्रयोग गर्ने सबै किसानहरुलाई परिचयपत्र दिएको छ। बर्षेनी पानी लगाएबापत निश्चित रकम समितिले उठाउँछ र त्यहि रकमबाट कुलोको मर्मत र संचालन गर्दछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार