प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा यो सिजनकै पहिलोपटक हिमपात

  नयाँ बुलन्द
0 Shares

ताप्लेजुङ : प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा शुक्रबार बेलुकादेखि हिमपात सुरु भएको छ । यो सिजनकै पहिलोपटक हिमपात भएको हो । हिउँले ३ हजार १ सय मिटर उचाइको माथिल्लो फेदीदेखि मन्दिरसम्मै ढाकेको पाथीभरा क्षेत्र विकास समिति सदस्य गोपाल न्यौपानेले बताए । डेढ सयभन्दा बढी तीर्थयात्रीले हिउँसँग रमाउँदै पाथीभरा मन्दिरमा पूजापाठ गरेका थिए । हिउँपरेको पाथीभरा क्षेत्रको दृश्य कैद गर्न र हिउँ खेल्न सदरमुकाम फुङलिङबाट आइतबार बिहान टोलिसमेत गएको थियो ।

सदरमुकाम फुङलिङवाट नजिकैको क्षेत्रमा हिउँ परेकाले हिउँसँग रमाउन चाहनेका लागि अवसर रहेको न्यौपानेले बताए । एक सातासम्म नविल्ने र रहिरहने भएकाले हिउँको मजा लिन अझै पनि जान सकिने उनले बताए । शनिबार बिहानको मौसम खुलेको र हिउँले ढाकेको डाँडादेखि कञ्चनजंघा, मकालु, कुम्भकर्ण हिमालहरू समेत देखिएकाले पाथीभरा जानेका लागि थप उत्साह भएको थियो । पूजा गर्न गएकाहरू सकेर पनि हिउँ खेल्न दिनभरजसो व्यस्त भएका थिए ।

माथिल्लो फेदिदेखि माथिको क्षेत्रको पैदल मार्गमा समेत हिउँ प्रशस्तै रहेकाले पैदल यात्रीले भने सचेतना अपनाउनुपर्ने न्यौपानेको सुझाव छ । हिउँमा चिप्लने र लड्ने सम्भावना हुने भएकाले लौरोको प्रयोग गर्नु उचित हुने उनले बताए । तीर्थयात्रीका लागि काफ्ले पार्टीदेखि माथिल्लो फेदीसम्मका व्यवसायीले नि:शुल्क लौरो उपलब्ध गराउने गरेका छन् । उता उच्च हिमाली क्षेत्र घुन्सा, ओलाङचुङगोलामा पनि शुक्रबार साँझ हिउँ परेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार