विदा कटौतीको निर्णय खारेज गर्न माग गर्दै ज्ञापनपत्र

  राम योङहाङ
0 Shares

विदा कटौतीको विरोधमा नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै नेपाल  आदिवासी जनजाति महासंघ इलामका अध्यक्ष चक्र येक्तेन (अभिषेक) ।

इलाम : नेपाल आदिवासी जनजाति महासंघले आफ्नो सांस्कृतिक चाडपर्वको बिदा कटौती गर्ने निर्णय खारेज गर्न सरकारसँग माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

केन्द्रीय कार्यक्रम अन्तरगत नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद इलामले जिल्ला प्रशासन कार्यालय मार्फत विदा कटौती फिर्ताको माग गर्दै प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।

महासंघ इलामका अध्यक्ष चक्र येक्तेन (अभिषेक) को नेतृत्वमा विभिन्‍न आदिवासी जनजाति महासंघमा आवद्ध जातीय संस्थाका प्रमुखहरुको उपस्थितीमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनामार्फत सरकारसमक्ष ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा धर्मनिरपेक्ष राष्ट्रमा हिन्दुधर्मावलम्बीहरुको चाडमा बढी विदा दिएको र आदिवासीहरुको पहिचानको रुपमा रहेको सांस्कृतिक चाडपर्वको बिदा कटौती गरिएको भन्दै निर्णय खारेजीको माग गरिएको छ । नेपालमा विदा धेरै भएको भएपनि सांस्कृतिक विभेद हुने गरी सरकारले आदिवासीहरुको विदा कटौती फिर्ताको माग गरेको छ ।

आदिवासी जनजाति महासंघले गुरुङ, तामाङ र शेर्पा समुदायको ल्होसार, मगर र थारु समुदायले मनाउने माघी, किराँत समुदायले मनाउने उभौली र उधौली पर्वको विदा कटौती भएकोमा आपत्ति जनाएको हो ।

ज्ञापनपत्रमा नेपाल आदिवासी जनजाति महासंघ सहित किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्खा, किरात याख्खा छुम्मा र सुनुवार सेवा समाज, तमु ह्युल छोँज दी (गुरुङ राष्ट्रिय परिषद), नेपाल मगर संघ, नेपाल शेर्पा संघ, नेपाल तामाङ घेदुङ, राष्ट्रिय आदिवासी जनजाति महासंघ र नेपाल आदिवासी जनजाति पत्रकार महासंघले हस्ताक्षर गरेका छन् ।

सरकारले सार्वजनिक विदा कटौती गर्दा पहिले विदा दिइएको यी चाडपर्वका विदा कटौती भएका थिए । सरकारको निर्णयको महासंघले विरोध जनाउँदै आएको छ । सरकारले विदा कटौती गरेको विरोधमा विभिन्न आन्दोलनका कार्यक्रम समेत गर्दै आएका छन् ।

यसअघि महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त निर्णय तत्काल खारेज गर्नुपर्ने माग राख्दै दबाबमूलक आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

सोही कार्यक्रा अन्तरगत ज्ञापनपत्र बुझाएको जनाएइको छ । महासंघ ४ पुसमा सबै जिल्ला प्रशासन कार्यालय, सबै प्रदेशको मुख्यमन्त्रीको कार्यालय र काठमाडौंको माइतीघर मण्डलमा धर्ना दिएर पनि आफ्नो सांस्कृतिक चाडपर्वको बिदा कटौती गर्ने निर्णय फिर्ता लिन सरकारलाई दबाब दिने कार्यक्रम रहेको जनाएको छ ।

आफ्नो चाडमा ३ दिन सार्वजनिक विदाको मागसहित प्रदेश सरकारसमक्ष ज्ञापनपत्र पेश गर्दै किरात याक्थुङ चुम्लुङ इलामकी अध्यक्ष गायत्री थेगिम ।

यस्तै चार किरातजन्य संस्थाले किरातीहरुको चाडमा प्रदेशभरी ३ दिन सार्वजनिक विदा दिन माग गर्दै १ नम्बर प्रदेश सरकारसमक्ष ज्ञापनपत्र पेश गरेका छन् ।

किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्खा, किरात याख्खा छुम्मा र सुनुवार सेवा समाजले जिल्ला प्रशासन कार्यालयमार्फत प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र पेश गर्दै आदिवासी करातीहरुको पर्वमा ३ दिन सार्वजनिक विदाको माग गरेको छ ।

उनीहरुले आफ्नो चाडमा यसअघि संघीय सरकारले दिएकव विदा समेत कटौती भएको भन्दै प्रदेश सरकारले उधौली पर्वमा ३ प्रदेशस्रीयत सार्वजनिक विदाका माग गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार