त्येअङ्सी सिरिजङ्गा सिङ थेबे लिम्बू भाषा, साहित्य, सिरिजङ्गा लिपि र सनातन धर्मका प्रचारक हुन् । सिरिजङ्गा याङ्वारक थुमको तेल्लकको कुदिङटार (हाल कुचिङटार भनिन्छ) मा सन् १७०४ अर्थात् वि.सं. १७६१ को मङ्सिरे पूर्णिमाको दिन जन्मिभएको विश्वास (थाम्सुहाङ पुष्प सुभाद्वारा सम्पादित, प्रकाशित सिरिजङ्गा पत्रिका प्रथम अंक अनुसार) गरिएको छ । जेआर सुब्बा २००४ : का अनुसार सिरिजङ्गाका पिताको नाम इसिरिहाङ सिङथेबे, दाजुको नाम सिभको सिङथेबे र श्रीमतीको नाम सिमाङ हो भनिन्छ । छोराहरु सिरिझुम र सिरिगुम (साथमै सिक्किम लगेको मानिएका) हुन् ।
लिम्बू जातिको भाषिक, सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक पहिचानहरु बचाई अगाढि बढाउने थुप्रै व्यक्तिहरुले योगदान पु¥याएका छन् । किरात इतिहासकार इमानसिं चेम्जोङ । लिम्बू भाषा, साहित्य, सिरिजङ्गा लिपि र सनातन धर्मका प्रचार त्येअङसी सिरिजङ्गा सिङ् थेबे र समाजसुधारक धर्मगुरु फाल्गुनन्द लिङदेन मुख्य व्यक्तिहरु हुन् । त्यसमध्ये पनि लिम्बू भाषा, लिपि र साहित्यको चर्चा हुँदा सबैभन्दा अग्रस्थानमा त्येअङसी सिरिजङ्गालाई लिइने गरिन्छ । यी महान व्यक्तिहरुको योगदानले नै आज लिम्बू समाज आफ्नो अस्तित्वमा रहेको छ । लिम्बू समुदायले अहिले यी तीनै व्यक्तिहरुलाई विभूतिको रुपमा मान्दै आएका छन् ।
खोजमुलक लेखहरुलाई आधार मानेर हेर्ने हो भने त्येअङसी सिरिजङ्गाले सिरिजङ्गा लिपि उनी आफैँले निर्माण गरेको होइनन् । नवौँ शताब्दीको याङ्वारक थुमका राजा सिरिजङ्गाहाङ् निर्माण गरेका थिए र ती बनाएर तयार भइसकेको सिरिजङ्गा लिपि पछि सत्रौँ शताब्दीमा आएर दोस्रो सिजिङ्गाले पुनरुत्थान गरे भन्ने बारेमा डा.रमेश ढुङ्गेल र प्राज्ञ बैरागी काइँला आफ्ना लेखहरुमा बताउँछन् । सिरिजङ्गाको नामको अगाडि ‘त्येअङसी’ रहेको छ । जसको अर्थ ‘अवतारी’ हुन्छ । लिम्बू भाषामा ‘त्ये’ को अर्थ आउनु र ‘अङ्सी’ को अर्थ महात्मा हुन्छ । यसरी आफैँ महात्मा प्राप्त भएको व्यक्ति भएकै कारण उनलाई त्येअङसी (अवतार) भनी चिनिएको पाइन्छ ।
सिरिजङ्गा लिपि, लिम्बू भाषा, धर्ममा पुर्याएको योगदान
नवौँ शताब्दीको सिरिजङ्गा राजाले आफ्नो जनताहरुलाई शिक्षा दिने क्रममा आफ्नै भाषा दिने क्रममा उनले धेरै भाषाका लिपिहरुको सङ्ग्रह गरेर र ती सबै लिपिहरु लिम्बू भाषाको शब्द र ध्वनि उच्चरणसँग भिन्न पाएपछि उनी तिब्बतमा नालान्दा विश्वविद्यालय गए । त्यहाँ गएर रकक्षित र विमल मित्राजस्ता विद्वानहरुलाई भेटेर फर्के पछि आफ्नो भाषाका शब्द र ध्वनि उचारणसँग मिल्ने गरी लिपिको तयार गरेको तथ्यहरु अर्जुन लिम्बूले सिरिजङ्गा सम्बन्धी आफ्नो लेखहरुमा उल्लेख गरेका छन् । यसरी नवौँ शताब्दीमा निर्माण भएको र प्रयोग भएका लिपि पछि सत्रौँ शताब्दीतिर हराईसकेको अवस्थामा त्येअङसी सिरिजङ्गाले पुनरुत्थान गरे र त्यसको लिपिलाई प्रचार गरे ।
यसरी लिम्बू भाषा, सिरिजङ्गा लिपि र किरात धर्म प्रचार गर्ने क्रममा तात्कालिन अवस्थामा उनीसँग उनका ८ जना चेलाहरु थिए । उनले चेलाहरुसँग मिलेर विश्वमा रहेको सारा किरात समुदायमा लिम्बू भाषा, लिपि, संस्कृति र किरात धर्म शिक्षा दिने उद्देश्यले अभियान चलाए । यसरी अभियान चलाउँदा मुन्धुम, उपदेशहरु लिपिबद्ध गरे र शिक्षा दिने क्रममा पढ्दा, लेख्दा सिरिजङ्गा लिपि नै प्रयोग गरे । यसरी लेखिएका कागजातहरु लिम्बू समुदायहरु रहेको लिम्बुवान, सिक्किम, दार्जिलिङमा रहेको थियो । त्येअङसी सिरिजङ्गाद्वारा लिपिबद्ध गरिएको पाण्डुलिपिहरु ब्रायन हुटन हडसनले सन् १८६०को दशकमा सङ्कलन गरेका थिए । हडसनको पाण्डुलिपिहरुलाई आधार मान्दा त्येअङसी सिरिजङ्गाको कालमा तात्कालिन अवस्थामा १९ व्यञ्जन वर्ण, ९ स्वर वर्ण, ७ केदुम्बा(आधा अक्षर) र २ संयुक्त अक्षर प्रयोग भएको पाइन्छ । अहिले भने सो लिपि २५ व्यञ्जन वर्ण, १२ स्वर वर्ण, ८ केदुम्बा(आधा अक्षर) र ३ संयुक्त अक्षर प्रयोगमा छन् । (राजकुमार दिकपालका २०६७)अनुसार सिरिजङ्गा पुनरुत्थान गरेको सिरिजङ्गा लिपि अहिले कम्पुटरको युनिकोडमा प्रवेश गरेको छ ।
युनिकोडमा प्रवेश गरेको यस लिपि युनिकोड भर्सन ४.० मा लिम्बू लिपिका रुपमा समाविष्ट छ । यो लिपिलाई युनिकोडको U+900 देखि U+194F अङ्क समुहमा राखिएका छन् । यो समुहमा ८० वटा अङ्क छन् । तीमध्ये ६६ स्थानहरु किरात सिरिजङ्गा लिपिका विभिन्न वर्ण, चिन्ह, अङ्कहरु रहेका छन् । राजकुमार दिकपालका (२०६७)खोजमुलक लेख अनुसार नै उनै सिरिजङ्गाको नामसँग जोडिएर आउने उपनामहरुः सिरिजङ्गा, सिरिजङ्गाबा, सिरिचाङ्गाबा, श्री चोम(ङ), श्री स्रिलि जाङ्गाहाङ, श्री याक्थुङहाङ, श्री स्रिजङ्गा (हज्सन सामग्री, ब्रिटिस लाइब्रेरी भोल्युम ७३, पत्र १५५–१५६, भोल्युम ८८, पत्र १, १६ आदिमा रहेको र तात्कालिन अवस्थामा रुपीहाङ राय (हज्सन सामग्री भोल्युम ८८) जयप्रकाश मल्ल (१७३७–१७६८) सँग प्रसङ्ग जोडिएको कुराहरु उल्लेख भएको छ । यीनै तथ्यहरु अघि सार्दै प्राज्ञ बैरागी काइँला र डा. ढुङ्गेलले हराएको लिपिलाई पुनर्जीवन दिएर लिम्बू ध्वनी नुरुपको वर्णमाला निर्माण, लिपिलेखन र प्रचलन (साक्षरताको अभियान) मा ल्याउनेजस्तो महान् कार्य सिरिजङ्गा देन हुन् र उनले पहिचान गरेको लिम्बू वर्णव्यवस्था आजका भाषावैज्ञानिक अध्ययनको अत्यन्त नजिक देखिन्छ भन्ने तथ्यहरु अगाडि सारेका छन् ।
तथ्यहरुलाई नै हेर्दा इमानसिं चेम्जोङको अनुसार १४०० सालमा विजयपुर–मकवानका राजा लोहाङ सेनले किराती मन्त्रीहरूलाई हिन्दू धर्म अँगालन र मैथिली भाषा लिपि प्रयोग गर्न अनुरोध गरे । उनीहरूले यो कुरा इन्कार गरे पनि मैथिलि भाषा–लिपि राज्यको भाषा–लिपि बन्यो भने यता आपुङ्गी लिम्बू राजाहरूले किरात लिपिको प्रयोग गरे । त्यसबेलाबाटै लिम्बू भाषालाई विभेद गर्दै आएको राज्यले अझ पनि व्यवस्था गर्नु ग्राहो मानिरहेको छ । तर सिरिजङ्गा लिपिको प्रभाव भने सबैमा प्रभाव परेको छ । (मदनमणि दीक्षित २०५९) का अनुसार ब्राम्ही लिपिको उपयोग संस्कृति भाषाले उपयोग गरिहेको बेला हिमाली उपमहादीपमा त्योभन्दा पहिला कम्तीमा ६ वटा प्राचीन प्राकृत भाषा र तिनका लिपिहरू थिए । किरात सिरिजङ्गा लिपि तीमध्ये एक थियो । यसरी त्येअङसी सिरिजङ्गाले किरात लिपिको पुनःउत्थान र विस्तार, मुन्धुमलाई लोकदर्शनको प्रस्तुत गर्ने काम, स्वधर्म, संस्कृति र शिक्षाप्रति लिम्बू समुदायमा जनचेतना जगाउने काम र लिम्बू साहित्य मूलतः मुन्धुम साहित्य अर्थात् जागरण साहित्यको उत्थान गर्ने मुख्य योगदान गरे । जेआर सुब्बाको अनुसार बौद्ध धर्मको प्रभावबाट लिम्बू जातिले मानिल्याएको धर्म जोगाउने काम गरे ।
सिरिजङ्गा हत्या र यसका कारण
चेम्जोङ (१९६७, २००३) का अनुसार त्येअङसी सिरिजङ्गा आफ्ना आठ चेलाहरूका साथ सिक्किममा प्रवेश गरेर आफ्नो भाषा, लिपि, मुन्धुम र शिक्षाको गाउँगाउँ घुमी प्रचार गर्न पुगेका थिए । सन् १७३४ मा प्रवेश गर्दा मार्तामका पोदोक कङ्लिबा इजमसँगको भेट गरेका थिए । उनले आफ्नो अभियान बढाउनु थाल्यो । तात्कालिन अवस्थामा सिक्किममा लामाहरूले राज्य गरिरहेको थियो । त्येअङसी सिरिजङ्गाको यो अभियान पेमायोन्ची गुम्बाका ठाछाङ लामाहरूले बौद्धधर्मको बिरोध र राजद्रोह ठाने । उनको शिक्षा, मुन्धुम, भाषा–साहित्य र लिपिको प्रचारले लिम्बूहरू एक हुने र बुद्धधर्मको प्रचारमा अवरोध र तिब्बती बौद्धधर्म जगमा उभिएको तिब्बती भोटे शासन अस्थिर हुनसक्ने ठानेर त्रसित ठाछाङ लामाहरूले षडयन्त्र रचे र राजद्रोहको अभियोग लगाई सिरिजङ्गालाई मार्तामस्थित कालेज र रेशी खोलाको दोभानको रुखमा बाँधी विष लगाएको गोपे बाँसको तिरले हाँनेर सन् १७४१ ई.मा हत्या गरियो । अत्यन्तै दुःखदायी हत्या थियो । उनलाई कुखुराको बिष्टा खुवाइखुवाईकन मारियो । त्यसको लगत्तै उनका सातजना चेलाहरूलाई पनि पक्रेर मारे । चेलामा एकजना पेघा थरका लिम्बूलाई भने जिउँदै छाला काढेर नुनचुक र खोर्सानी हाल्दै सातदिनसम्म शासना दिएर मारे भन्ने तथ्यहरु सर्वजनिक भएका छन् । यसपछि लिम्बूलिपि, भाषा र साहित्य पढ्नमा प्रतिबन्ध लगाए ।
सिरिजङ्गा सम्बन्धि विभिन्न आलेखहरु हेर्ने हो भने सिक्किममा नाम्ग्याल वंशको शासन गरिरहेको बेलामा नेपालको इतिहासमा पृथ्वीनारायण शाह उदाउँदो अवस्थामा थियो । उसबेला टिस्टा नदीपश्चिम र अरुण नदीपूर्वको भागमा लिम्बूजातिको आधिपत्य जमाएका थिए । नाम्ग्याल वंशले लिम्बुवानको फेदाप तथा याङवरक थुममा बुद्धधर्मको प्रभाव पर्न थाल्यो । सिक्किमका दोस्रा राजा तेन्सुङ नामग्याल (सन् १६७०–१७००) ले आफ्नी दोस्री रानीको रूपमा योङहाङ किरात राजाकी छोरी हाङ्वामुक्मासँग विवाह गरेपछि तिब्बती लिपि र बुद्धधर्मको प्रभाव अझ प्रगाढ रूपमा लिम्बू जातिमा प¥यो र किरात लिपि र लिम्बू धर्म संस्कार जर्जर बन्यो जुन दुःखद खबर लिम्बुवानसम्म पनि फैलियो ।
सोहि समयमा अहिले त्येअङसी सिरिजङ्गा भन्दै पुकारिन्दै आएका व्यक्तिको याङवरक थुममा जन्म भयो । उनले बालापनसँगै जब समाजलाई बुझ्न थाले त्यसपछि आफ्नो समुदायलाई आफ्नो पहिचानमै कायम रहने वातावरण कसरी सिर्जना भन्ने क्रममा उनले सिरिजङ्गाहाङ राजाले नवौँ शताब्दीमा निर्माण गरेको लिपि र आफ्नो भाषाको माध्यमबाट मुन्धुम, संस्कृति, धर्मको प्रचार गरेका थिए । लाप्चेहरूले बुद्धधर्म अनुसरण गरे तापनि लिम्बूहरूले भने आफ्नो भाषा, मुन्धुम बचाउन धेरै हदसम्म सफल रहेका थिए । त्येअङसी सिरिजङ्गाको यो अभियानको प्रभाव बढ्दै गएपछि पेमायोन्ची गुम्बाका ठाछाङ लामाहरूले बौद्धधर्मको बिरोधीको आरोपहरु लगाई हत्या गरेका थिए ।
त्येअङ्सी सिरिजङ्गाको स्मरणमा गरिएका कार्यहरु
नेपालमा भएका कार्यहरू
–वि.सं. २०४९ मा तत्कालीन श्री ५ को सरकारले राष्ट्रिय विभूति सिरिजङ्गाको चित्राङ्कित हुलाक टिकट प्रकाशित गरेको ।
–मोरङ बेलबारीमा २०३७ मा सिरिजङ्गा स्पोर्टिङ क्लबको स्थापना (हाल अस्तित्वमा नरहेको (चङ्बाङ, २०७१: १०८) ।
– मोरङको तत्कालीन बेलबारी-६ हाल बेलबारी नगरपालिका—७ सैनिक बस्तीमा विभूति त्येअङ्सी सिरिजङ्गाकै नाममा सिरिजङ्गा प्राथमिक विद्यालय स्थापना । यो विद्यालय अद्यावदिक अस्तित्वमा रहेको छ ।
–मोरङ पथरी निवासी समाजसेवी किशोर नेम्बाङको अगुवाइमा पूर्ण कदको त्येअङ्सी सिरिजङ्गाको शालिक २०७२ वैशाख २६ गते स्थापना भई अनावरण भएको छ ।
– कियाचुले लिम्बू भाषा साहित्यको इतिहासको क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई पुरस्कृत गर्न वि.सं. २०५१ मा ‘किरात सिरिजङ्गा पुरस्कार’ स्थापना गरेको ।
– इलाम चुलाचुली हात्तीलेदा निवासी ज्ञानोदय लाओतीले आफ्नो निजी निवास परिसरमा किरात विभूति त्येअङ्सी सिरिजङ्गाको सालिक आफैले निर्माण गरी २०३९ फागुन शिवरात्रीमा स्थापना गरेको ।
– झापा जिल्ला सत्तासीधाम—८, हाल शिवसतासी नगरपालिका—९ सैनिक बस्तीमा सिरिजङ्गा प्राथमिक विद्यालय खोली सञ्चालनमा रहेको छ ।
–झापा जिल्लाको तत्कालीन घैलाडुब्बा— १ हाल कन्काई नगरपालिका— ७ दुर्गापुरमा किरात याक्थुङ चुम्लुङ गाउँ समितिको पहलमा २०६३ मा त्येअङ्सी सिरिजङ्गाको अर्धकदको सालिक स्थापना ।
– झापा जिल्लाकै मेची नगरपालिका काँकडभिट्टामा क्याप्टेन गोपीलाल लिङ्देनको अगुवाइमा सिरिजङ्गाको अर्धकदको सालिक स्थापना ।
– कियाचुले पृथ्वीनगर झापामा त्येअङ्सी सिरिजङ्गाको अर्ध कदको सालिक २०६४ मा निर्माण ।
– कियाचु सुनसरीले धरान न.पा. तीनकुनेमा त्येअङ्सी सिरिजङ्गाको पूर्ण कदको सालिक वि.सं. २०५९ मा निर्माण ।
– पान्थर जिल्ला साराङ्डाँडा — १ स्याक्वामा सिरिजङ्गा प्राथमिक विद्यालय स्थापना भई सञ्चालन भइरहेको ।
– पूर्व मन्त्री पूर्णकुमार सेर्माको नेतृत्वमा सिरिजङ्गा ग्रामीण विकास केन्द्र पान्थर साराङ्डाँडामा स्थापना
भई पहाडी क्षेत्रमा झोलुङ्गे पुल निर्माणलगायतका सामाजिक कार्य गरिआएको ।
– ताप्लेजुङ सिनाम डाँडागाउँमा सिरिजङ्गा मिङ्सो माङहिमको निर्माण ।
–कियाचुले लिम्बू भाषा साहित्यको इतिहासको क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई पुरस्कृत गर्न वि.सं. २०५१ मा ‘किरात सिरिजङ्गा पुरस्कार’ घोषणा गरेको छ ।
– कियाचु ललितपुरले पूर्णकदको शालिक निर्माण गरी आफ्नो भवन अगाडि राखेको छ ।
सिक्किम भारतमा भएका कार्यहरू
– पश्चिम सिक्किम हि–बर्मेकमा सिरिजङ्गा माङ्हिम निर्माण । सिरिजङ्गाले उपदेश दिने गरेको ढुङ्गामाथि अर्धकदको सालिक निर्माण ।
– पश्चिम सिक्किमकै मार्ताम लेक्सेप जोड्ने मार्गलाई सिक्किम सरकारबाट ‘त्येअङ्सी सिरिजङ्गा मार्ग’ नामकरण ।
– मङ्सिरे पूर्णिमा अर्थात् त्येअङ्सी सिरिजङ्गा जयन्तीको दिन सिक्किम सरकारले सरकारी बिदा घोषित गरेको छ ।
– सिक्किम कै युमाङ थेगुमा सबैभन्दा ठूलो र अग्लो (३८ फिट) सिरिजङ्गाको मूर्ति र मुन्धुम अध्ययन केन्द्रको निर्माण ।
अन्यमा, सिरिजङ्गाले लिम्बूहरु पहिचान र अस्तित्वको लागि जुन प्रयत्नहरु गरेका थिए ती इतिहासको कालखण्डहरुले स्मरण गर्दै जानेछ । पछिल्लो समयमा उनलाई स्मरण गर्ने दिन चासोक तङनाम पर्ने भएकोले लिम्बू समुदायलाई कम प्राथमिकता दिँदै आएको देखिन्छ । डा.रमेश ढुङ्गेलले हिमाल खबर पत्रिकाको पूर्णङ्क १४१ मा ‘सपना, कल्पना र महाकाव्यका पात्र, कसरी मान्ने राष्ट्रिय विभूति?’ शिर्षकमा उनलाई राष्ट्रिय विभूति मान्ने प्रसस्त आधारहरु भएको कुरा उल्लेख गरेका छन् । किन सरकारले बुझिरहेको छैन ? सिरिजङ्गा सम्बन्धि जारकारहरुले तथ्यहरु सार्वजनिक गर्नु पर्यो । भानुभक्तको जयन्ती मनाउने सरकारले राष्ट्रिय विभूति फाल्गुनन्दको जयन्ती मनाउदैन्न । सिरिजङ्गा किन राष्ट्रिय विभूति घोषित भईरहेको छैन ? विभूति घोषणाको लागि सम्बन्धित समुदायको प्रयास पनि उत्तिकै महत्व हुन्छ । लिम्बू भाषा, लिपि, साहित्य, संस्कृति उनले जसरी उजागर गरे त्यो योगदान र साहदत लिम्बू समुदायले बुझेर अगाडि बढ्नु जरुरी छ ।
श्रोत : तान्छोपा मासिक, वर्ष १३, अंक ११, मंसिर २०७५