क्रियाशील पत्रकारहरुबिच छलफल कार्यक्रम सम्पन्न

  नयाँ बुलन्द
0 Shares

इलाम : धेरै समस्या मध्ये जटिल ठानिएका महिला समस्याकाबारेमा आइतबार क्रियाशील पत्रकारहरुबिच एक छलफल कार्यक्रम सम्पन्न भएको छ । सन्डेक्लव परियोजना अन्तरगत डब्लुडब्लुजे महिला क्रियाशील पत्रकार महाँसंघ इलाम शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

विभिन्न सञ्चारगृहमा आवद्ध क्रियाशील पत्रकारहरुको भेलामा महिलामा रहेका समस्याहरु मध्ये मानव बेचविखन र महिला हिंसाका विषयमा छलफल भएको थियो । छलफलका क्रममा मानव बेचविखनका समस्या जटिल बन्दै गएको बताइएको थियो । इलाम सिमानाकाका प्रमुख केन्द्र मानिदै आए पनि दलालले चोर बाटोको प्रयोग गर्ने क्रम बढेकाले समस्या जटिल बनेको सहभागीहरुले बताएका थिए । अशिक्षा, बेरोजगारी, प्रलोभन, पारिवारिक वातावरण राम्रो नहुनु, जस्ता कारणले मानव बेचविखनका घटना न्युनिकरण गर्नमा समस्या भएको बताइएको थियो ।

यस्तै महिला हिंसाका घटना समेत बढ्दै गएकाले यसको कारण र न्युनिकरणका विषयमा गहन अध्ययन हुन जरुरी रहेको बताइएको थियो । महिला हिंसा कम नहुनुमा अशिक्षा, बेरोजगारी, वैदेशिक रोजगारी, संविधानमा उल्लेख भएका ऐननियम लागु गर्नमा सरकार उदासिन रहनु, हिंसा सहनु र मदिरा सेवन जस्ता कारण रहेको सहभागीहरुको धारणा रहेको थियो ।

१५ जना पत्रकारहरुको सहभागितामा भएको छलफल कार्यक्रममा प्रत्येकले समस्या देखा पर्नुको कारण र न्युनिकरणकाबारे आ – आफ्नो विचार राखेका डब्लुडब्लुजे महिला क्रियाशील पत्रकार महाँसंघ इलाम शाखाकी अध्यक्ष सविता पाण्डेले जानकारी दिइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार