रोङ : हरेक वर्षझैं यो वर्ष पनि रोङ ६ को सलकपुरमा पर्यटकहरुको भिड लाग्न थालेको छ । दैनिकजसो करिब ७ हजार भारतीय पर्यटकहरुले सलकपुरको भ्रमण गर्ने गरेका छन् ।
कृषि व्यवसायबाट निक्कै चर्चा कमाएको सलकपुर भारतको लोहागढ र खरबनीदेखि नजिकै रहेको साथै हिउँदको बेलामा मेची खोला समेत घट्ने गरेकाले यहाँ पर्यटकको घुँइचो लाग्ने गरेको छ । सहजै सवारी साधनहरु समेत आउन सक्ने भएकाले भिडभाड बाक्ले लाग्ने गरेको छ । आइतबार भारतमा सार्वजनिक विदा हुने गरेको कारण अन्य भन्दा आइतबार निक्कै भिड लाग्ने गर्दछ । कति संख्यामा भारतीय पर्यटक आए भन्ने तथ्याङ्क नभएपनि मेची खोलादेखिको लर्को धरहरा डाडाँसम्म रहेको हुँदा न्युनतम् ७ हजारको संख्यामा रहेको स्थानीय पर्यटन व्यवसायी लाखमान ग्रन्दन बताउँछन् ।
भारतमा कम आय भएकाहरुदेखि उच्च पदस्त व्यक्तिहरु समेत सलकपुर आउने गरेका छन् । सुन्तलाको बगान हेर्न, बगानमै सुन्तला चाख्न, बगानमा फोटो खिचेर रमाउन उनीहरु सलकपुर आउने गरेका हुन् । तर सुन्तलाको बगान मासिदैं जाँदा उनीहरुलाइ के देखाएर बोलाउन सकिन्छ भन्ने बिषयमा कसैको ध्यान नगएको स्थानीय सुमन बम्जनले गुनासो गरे ।
भारतीय पर्यटकहरु बिहान आएर दिनभर सलकपुर घुम्ने र फर्कदा सुन्तला, कुच्चोको मुठ्ठा, तरकारी किनेर फर्कने गरेका छन् । बिगत केही वर्षयता मंसिर, पुष र माघसम्म हरेक आइतबार मेलानै लाग्ने गरेको स्थानिय कल्पना भण्डारीले बताइन् ।