काठमाडौं : नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा सफलता पाउन थालेदेखिको निरन्तर स्तम्भ र साक्षी हुन शक्ति गौचन । भैरहवाको टोलीबाट उदाएका यि प्रतिभाले नेपाली क्रिकेटलाई लगभग दुई दशक साथ दिए । यही दुई दशक लामो यात्रालाई विश्राम दिदै शक्तिले सक्रिय खेलाडी जीवनबाट शनिबार हात उठाएका छन् अर्थात सन्यास लिएका छन् ।
पूर्व घोषित योजना अनुसार शक्तिले कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा जारी एभरेष्ट प्रिमियर लिग इपीएलको खेलबाट सन्यासको हात उठाएका हुन् । पोखरा पल्टनबाट उत्रिएका शक्तिले आफ्नो टिमलाई अन्तिम प्रतियोगितामा उपाधि दिलाउने सपना पूरा गर्न नसके पनि उनको योगदान नेपाली क्रिकेट इतिहासमा मेटिन नसकिने गरि कोरिएको छ । शक्ति जस्तो भेट्रान खेलाडीको विदाईमा जुन अवसर र माहौल जुट्नु र बन्नु पथ्र्यो त्यो केही पनि जुरेन । उनको विदाई एउटा सामान्य खेलाडीको हैसियतमा सीमित रहनु वास्तवमा नेपाली क्रिकेटको सफलताको नै अपमान भएको भन्दा अनर्थ नलाग्ला ।
एउटा जुझारु , मेहनती,धैर्यवान र लगनशील खेलाडीको छवि बनाएका शक्तिले २००२ देखि अन्तराष्ट्रिय क्रिकेटमा पाइला राखेका थिए । उनी अन्तराष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो नेपाली खेलाडी समेत हुन् । विश्व टी–२० वरियतामा अहिले ७७ औं स्थानमा रहेका शक्ति अन्तर्राष्ट्रिय क्रिकेटमा शतक समेत प्रहार गरेका थिए । विश्वकप छनोटका क्रममा सन् २००५ मा इटलीविरुद्ध भएको खेलमा शक्तिले एक सय ३ बलको सामना गरेर एक सय ६ रन बनाएका थिए ।
सन् २००१ मा यू–१७ टोलीबाट क्रिकेट अध्यायको आरम्भ गरेका शक्तिले बंगलादेशविरुद्धको एशिया कपबाट अन्तर्राष्ट्रिय खेल जीवनको सुरुवात गरेका थिए । सन् २००२ मा न्युजिल्याण्डमा आयोजित अन्डर नाइन्टिन विश्वकपमा उनले सनसनी नै मच्चाउन सफल भएका थिए । उक्त विश्वकपमा नेपालले प्लेट च्याम्पियनशीपतर्फको उपाधि उठाउन सफल भएको थियो । यही सफलतासंगै सोही बर्ष उनले सिंगापुरमा भएको एसीसी ट्रफमा उनले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।
नेपाललाई डिभिजन ५ देखि टी–२० विश्वकप हुँदै एकदिवशीय मान्यता दिलाउँदा सम्म शक्तिले राष्ट्रिय टोलीबाट धेरै पसिना बगाए । भारतको कोलकातामा आफ्ना पितासंग रहदा क्रिकेटको कखरा सिकेका शक्तिले त्यसपछि क्रिकेटमा जोडेको सफलता लोभलाग्दो र प्रेरणादायी छ । अब प्रशिक्षक नभए व्यवस्थापकीय भूमिकामा रहेर भएपनि नेपालको क्रिकेटलाई थप सफलता दिलाउन तर्फ लाग्ने शक्तिको सोंच छ । गुडबाई शक्ति ।