चितवन : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपालमा संघीयता सफल बनाउने दायित्व सबैको भएको बताएका छन् ।
शनिबार चितवनको सौराहामा अन्तरप्रदेशसभा अनुभव आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले संघीयता नयाँ अभ्यास भएकाले अधिकार हस्तान्तरण गर्दै संघीयतालाई समृद्ध बनाउँदै जानुपर्नेमा जोड दिए ।
‘अमेरिकामा अढाइ सय वर्षदेखि संघीयता भएपनि त्यहाँ समस्या छन्’–उनले भने–‘समस्याहरुसँग जुध्दै जाँदा परिपक्व हुन्छ ।’
कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद र प्रदेशसभाका साझा अधिकारका सूचीबारे आगामी हिउँदे अधिवेशनबाट छलफल हुने उल्लेख गरे । त्यसपछिमात्रै प्रदेशसभालाई कानुन बनाउन सहज हुने उनले बताए ।
यस्तै, प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले नयाँ संविधान कार्यान्वयनका लागि अन्तरप्रदेशसभाबीचको छलफल फलदायी हुने विश्वास व्यक्त गरिन् ।
राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले संघीय संसद र प्रदेशसभाका समस्या साझा रहेको बताउँदै मिलेर समाधान गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा प्रदेशसभाका सभामुख र उपसभामुखले भौतिक पूर्वाधार, मानव संशाधन र मर्यादाक्रम सच्याउनुपर्नेमा जोड दिए ।
प्रदेशसभाका सभामुख–उपसभामुखले संसदीय प्रणालीका ज्ञान भएका जनशक्ति नभएको, दरबन्दीको व्यवस्था न्यून रहेको, मर्यादाक्रम नमिलेको, प्रदेशका पदाधिकारी संघ जाँदा समन्वय अभाव रहेकालगायतका समस्या औंल्याएका थिए ।
संघ र प्रदेशसभाका कानुन निर्माणको अवस्था, समस्याहरु, भौतिक पूर्वाधारसहित आन्तरिक व्यवस्थापनलगायतका विषयमा अनुभव आदान–प्रदान गर्न कार्यक्रम गरिएको जनाइएको छ ।
संघीय संसद र प्रदेशसभाबीच अनुभव आदान–प्रदान गर्न पहिलोपटक गत भदौ ३ गते काठमाडौंको चन्द्रागिरिमा संघीय संसद र प्रदेशसभाको नेतृत्वबीच सामूहिक अन्तरक्रिया भएको थियो ।