माइजोगमाई : माइजोगमाई ३ नामसालिङले इलामको माइजोगमाईमा जारी प्रथम अध्यक्षकप फूटबल प्रतियोगिताको तेस्रो स्थानको पुरस्कार हात पार्न सफल भएको छ।
मंगलबार नयाँबजारस्थित बालागुरु खेल मैदानमा तेस्रो स्थानका लागि भएको खेलमा फ्रेन्डशिप फुटबल क्लब जोगमाईलाई २-१ गोल अन्तरले पराजित गर्दै माइजोगमाई ३ नामसालिङ आफूलाई तेस्रो स्थानमा पुर्याएको हो ।
सुरुवात देखिनै प्रतिस्पर्धात्मक रुपमा सञ्चालन भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सम्पन् भएको थियो । दोस्रो हाफमा भने माइजोगमाईका सन्तोष राईले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । मिलन राईले अर्को गोल थप्दै टीमलाई दोहोरो अग्रतामा पुर्याउँदा खेलको अन्तिम समयमा फ्रेन्डशिपका विशाल राईले सान्तवना गोल मात्र फर्काउन भ्याए ।
२-१ को नतिजासँगै माइजोगमाई तीनले तेस्रो स्थानमा रहँदै नगद २५ हजार सुरक्षित गरेको छ। खेलको म्यान अफ दी म्याच माईजोगमाईका सन्तोष राईले घोषित भए ।
प्रतियोगिता अन्तर्गत उपाधिका लागि बुधबार रेड डेविल्स नयाँबजार र आरआरसी प्याङ मैदान उत्रिने छन् ।
माइजोगमाई गाउँपालिकाको मुख्य प्रायोजनमा माईजोगमाई खेलकुद विकास समिति र माइजोगमाई फुटबल क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद १ लाख सहित २० तोला चाँदीको माइजोगमाई रनिङ शिल्ड तथा उपविजेताले नगद ५० हजार र तृतीयले नगद २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलरक्षक, अनुशासित टीम र म्यान अफ दी म्याचलाई समेत पुरस्कृत गरिने माइजोगमाई खेलकुद विकास समितिका अध्यक्ष प्रविण राईले नयाँ बुलन्द डटकमलाई जानकारी दिए ।
प्रतियोगितामा माइजोगमाई गाउँपालिका भित्रका १८ टीमको सहभागीता रहेको थियो।