दानाबारी : इलामको माई नगरपालिका ३ लादियास्थित बगैंचामा गएराति आगलागी हुँदा एक घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
राती करिब साढे १० बजे विद्युत सर्ट भई आगलागी हुँदा दिलबहादुर लावती लिम्बूको घर जलेर १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।आगलागीबाट लिम्बूको घरमा रहेको अन्नपात, धनसम्पती, लत्ताकपडा र गरगहना जलेर नष्ट भएको प्रहरी चौकी लोदियाले जनाएको छ ।
आगलागी भएको थाहा पाएपछि लिम्बूले हारगुहार गरेका थिए । नजिकै कुनै घर नभएको र रातको समय भएकाले स्थानीयले तत्काल सहयोग गर्न पाएनन् । ढिला मात्र छिमेकीले थाहा पाएकाले आगो नियन्त्रणको प्रयास गरेपनि नियन्त्रण हुन नसकेको छिमेकी मेघबहादुर लिम्बूले बताए । सो घरमा लिम्बू एक्लै बस्दै आएको जनाईएको छ । आगलागी भएको घरबाट छिमेकी गाउँ करिब तीन सय मिटर दूरीमा पर्दछ ।
आगलागी नियन्त्रणका लागि स्थानीय सरकार उदासिन बन्दा बढी क्षति हुने गरेको स्थानीयको आरोप छ । हिउँदको समयमा विभिन्न कारणले हुने आगलागीबाट वर्षेनि करोडौंको क्षति हुने गरेको छ । नगरपालिकाले समेत यस्ता विपद्का घटना न्युनीकरण सम्बन्धी कुनै या्जना बनाएको छैन । आगलागी नियन्त्रणका लागि बारुण यन्त्र समेत नभएकाले आगलागीबाट हुने क्षति न्युनीकरण गर्न नसकेको स्थानीयबासी बताउँछन् ।