फाकफोकथुममा शल्यक्रिया सहितको निःशुल्क आँखा शिविर

इलाम : इलामको फाकफोकथुम गाउँपालिकाको आमचोकमा शल्यक्रियासहितको निःशुल्क आँखा शिविर सुरू भएको छ । नेपाल नेत्रज्योति सङ्घ इलाम, फाकफोकथुम गाउँपालिका तथा आँखा अस्पताल विराटनगरको संयुक्त आयोजनामा विहीबारदेखि सुरु भएको शिविर शनिबारसम्म संचालन हुनेछ ।

शिविरमा एकैदिन एक सय जना भन्दा बढीको आँखा परीक्षण गरिएको छ । मङ्सिर १५ गतेदेखि फाकफोकथुमकै फूएतप्पा, लुम्दे, एकतप्पा र फाकफोकमा गरी करिब दुई हजार जनाको आँखाको निःशुल्क परीक्षण गरी औषधि वितरण गरिएको नेत्रज्योति सङ्घका सहसचिव प्रकाश भट्टराईले जानकारी दिए ।

उक्त परीक्षण शिविरमा ५६ जना मोतिया बिन्दुका बिरामी भेटिएको र उनीहरूको मोतिया बिन्दुको शल्यक्रियाका लागि आमचोकमा बोलाइएको समेत उनले जानकारी दिए । शिविरमा विराटनगर आँखा अस्पतालका डा.हनी केसीलगायत ११ जनाको चिकित्सकको टोलीले सेवा पु¥याइरहेको छ । शिविरमा मोतिबिन्दुको शल्यक्रिया, विद्यार्थीलाई निःशुल्क चश्मा वितरण तथा औषधि विरण गरिएको छ ।

शिविर उद्घाटन कार्यक्रममा फाकफोकथुम गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले आँखा जस्तो शरीरको संवेदनशील अंगका कारण धेरै व्यक्ति ग्रसित भएकाले फाकफोकथुम गाउँपालिकाको आग्रहमा नेपाल नेत्रज्योति संघले शिविरले शिविर सञ्चालन गरेको बताए । एकतप्पाको शिकारीभञ्ज्याङमा आफूले आँखाको परीक्षण गराएपछि धेरैले परीक्षण गराए, उनले भने, ‘शिविरमा परीक्षण गराउँदा आँखा देखिंदैन भन्ने मानसिकता परिवर्तन हुँदै गएको छ ।’

गाउँपालिकाले आगामी दिनमा पनि शिविर सञ्चालन गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए । शिविरका लागि गाउँपालिकाले ४ लाख आर्थिक सहयोग गरेको गाउँपालिकाले जनाएको छ ।

नेपाल नेत्रज्योति संघका उपाध्यक्ष तथा माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले एक वर्षको अवधिमा नेत्रज्योति संघले एक हजार जनाको शल्यक्रिया गरेको बताए । सन् २०२० सम्ममा मोतिबिन्दू र रतन्धो लागेको मानिसको संख्या न्यून बनाउने उद्देश्यले विभिन्न गाउँपालिकामा शल्यक्रियासहितको शिविर आयोजना गरिएको बताए ।

नेत्रज्योति संघका अध्यक्ष इन्द्र फूयलको अध्यक्षतामा भएको सो कार्यक्रममा फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती राई (सरु), नेत्रज्योति संघका सल्लाहकार हरिप्रसाद खनाल, सहायक प्रमुख जिल्ला अधिकारी देवीचरण फूयललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संघका सचिव विष्णु कार्कीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार