माईजोगमाई र प्याङ सेमीफाइनलमा

माइजोगमाई : इलामको माइजोगमाईमा जारी प्रथम अध्यक्षकप फूटबल प्रतियोगितामा माईजोगमाई ३ र प्याङ सेमीफाइनल प्रवेश गरेका छन् ।

शुक्रबार भएको पहिलो खेलमा पूर्वक्षितिज क्लब सोयाङलाई टाइब्रेकरमा ३-० गोल अन्तरले पराजित गर्दै माईजोगमाईले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । निर्धारित समयमा गोलरहित बराबरी भएपछि टाइब्रेकरमा विजेता निर्धारण गरिएको थियो । खेलको म्यान अफ द म्याच माईजोगमाईका सुजन योल्मु घोषित हुदै ट्रफी हात पारे ।

त्यस्तै  दोस्रो खेलमा सनराइज बैङ्कलाई ३-० गोल अन्तरले पराजित गर्दै प्याङले सेमीफाइनलको यात्रा तय गरेको हो । खेलमा  विजेता प्याङका सुदिप थेवे म्यान अफ द म्याच घोषित हुदै आकर्षक ट्रफी प्राप्त गरेका छन् ।

यस अघि रेड डेविल्स नयाँबजार र फ्रेन्डशिप फूटबल क्लब सेमीफाइनलमा पुगिसकेका छन् ।

प्रतियोगिता अन्तर्गत  सोमबार सेमीफाइनलका खेल हुने आयोजकले जनाएको छ । पहिलो सेमीफाइनलमा माईजोगमाई ३ ले रेड डेविल्स नयाँबजार र दोस्रो खेलमा प्याङले फ्रेन्डशीप फूटबल क्लब जोगमाईको सामना गर्नुपर्नेछ ।

माइजोगमाई गाउँपालिकाको मुख्य प्रायोजनमा माईजोगमाई खेलकुद विकास समिति र माइजोगमाई फुटबल क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद १ लाख सहित २० तोला चाँदीको माइजोगमाई रनिङ शिल्ड तथा उपविजेताले नगद ५० हजार र तृतीयले नगद २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

साथै उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलरक्षक, अनुशासित टीम र म्यान अफ द म्याचलाई विधागत पुरस्कार समेत व्यवस्था गरिएको माइजोगमाई खेलकुद विकास समितिका अध्यक्ष प्रविण राईले जानकारी दिए ।

नयाँबजारस्थित बालागुरु खेलमैदानमा जारी प्रतियोगितामा गाउँपालिकाकाभित्रका १८ टिमको सहभगिता थियो । प्रतियोगिताको फाइनल आगामी २६ मंसिरमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार