अलैंची बर्सेनि उत्पादन बढ्दै, मुल्य भने घट्दै

  सृजना श्रेष्ठ
7 Shares

इलाम : ६ वटा ‘अ’ ले प्रख्यात इलामको प्रमुख नगदे बाली मध्ये एक अलैँचीकोे उत्पादन वर्षेनी बढे पनि मूल्य भने वर्षेनी घट्दो छ । अलैँचीको अहिले मुख्य सिजन चलिरहेको छ तर कृषकले सोचे अनुरुपको मूल्य  भने पाउन सकेका छैनन् ।

उता प्रतिमन  (४०केजी)को १ लाख १३ हजार सम्म पुगेको अलँैची पछिल्लो वर्षहरुमा मुल्य गिरावट भएर तीन गुणा घटेपछि ईलामका ब्यवसायी पनि उत्तिकै चिन्तित बनेका छन् ।

२०७३ सालमा प्रतिमन ६५ हजारमा र गत वर्ष प्रतिमन ३४ हजारमा अलैंची बिक्री गरेका जिर्मलेका अलंैची व्यवसायी यामप्रसाद अधिकारीले यस वर्ष भने २५ हजार ५ सयमा मात्र बिक्री गरेका छन् । उनका अनुसार नेपालको अलैंचीको मूल्य बर्सेनि घट्नुमा पहिलेको तुलनामा अलैंचको खेती विस्तार हुनु, जसको कारण उत्पादन बढि हुनु, अलैंचीको माग कम हुनु, उत्पादित अलँैची गुणस्तरीय नहुनु हो ।

नेपालमा उत्पादन भएको अलैँचीको प्रमुख बजार भारत हो । बजारीकरणका लागि सिधै तेस्रो मुलुक निर्यातको व्यवस्था नहुनु, भारतको बजारमा निर्भर रहनुपर्ने बाध्यता र अहिले भारतमा पनि अलँैची उत्पादन बढ्नको कारण नेपालमा उत्पादित अलँैचीको मूल्य घटेको अलैंची व्यवसायी महासंघ इलामका अध्यक्ष बिजय खाकीले बताए ।

कतिपय किसान र व्यवसायीले राम्रो भाउ आउने आशामा अझै पनि गतवर्षको अलैंची गोदाममा थन्काइराखेको बताउँछन् ।

कृषि ज्ञान केन्द्र इलामले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७२/७३ मा इलाममा १ हजार ५ सय ९ हेक्टर जमिनमा अलैंची खेती गरिएकोमा ४ सय ६० मेट्रिक टन अलैंची उत्पादन भएको थियो ।

त्यस्तै आव ०७३/७४ मा १ हजार ६ सय हेक्टर जमिनमा ५ सय ७६ मेट्रिक टन अलैंची उत्पादन भएको थियो । आव ०७४/७५ मा १ हजार ६ सय ५० हेक्टर जमिनमा ६ सय ६० मेट्रिक टन अलँैची उत्पादन भएको छ । इलाममा करिब ३ हजार ५ सय अलैंची कृषक रहेका छन् ।

यता मुल्य भने बर्सेनि घटेको देखिन्छ । अलैंची व्यवसायी महासंघ इलामले दिएको जानकारी अनुसार आर्थिक वर्ष ०७२/७३ मा अलैंचीको मुल्य ७२ हजार देखि ९५ हजारसम्म रहेको थियो । आव ०७३/७४ मा ४८ हजार देखि ८१ हजारसम्म रहेको थियो भने आव ०७४÷७५ मा २७ हजार देखि ३३ हजारसम्म रहेको छ ।

यता कृषि ज्ञान केन्द्र इलामको अनुसार अलैंचीको उत्पादन बढ्नुमा सरकारको अलैंचीमा लगानी गर्नु, कृषकलाई तालिम, खेती विस्तार, गुणस्तरीय बिउ उपलब्ध, प्राविधिक सल्लाह दिनु रहेको बताएको छ ।

कतिपय किसान र व्यवसायीले राम्रो भाउ आउने आशामा अझै पनि गतवर्षको अलैंची गोदाममा थन्काइराखेको बताउँछन् ।

सरकारले अलैंची खेतीको विकास, विस्तार र बजारीकरणका लागि छलफलमा रहेको अलैंची नीतिलाई तत्काल लागू गर्नुपर्ने, नेपालमा उत्पादित अलैंची सिधै तेस्रो मुलुक निर्यात गर्ने व्यवस्था सरकारले मिलाउन सके अलैंचीको उचित मूल्य प्राप्त गर्न सकिने अलैंची कृषक तथा व्यवसायीको भनाइ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार