सुर्खेत : पछिल्लो समय अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरीहरु बढ्दै गएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका अनुसार स्थानीय तहसँग सम्बन्धित भ्रष्टाचारका उजुरीहरु बढ्दै आउन थालेका हुन् । विकास निर्माणका काम र कर्मचारी व्यवस्थापनमा अनियमितता भएको र कामहरुमा गुणस्तर नभएको भन्दै बढी उजुुरी आउने गरेको आयोगले जनाएको छ ।
हालसम्म परेका ५ सय ३ उजुरीमध्ये सबैभन्दा बढी १ सय ५५ उजुरी स्थानीय तहसंँग सम्बन्धित छन् । यस्तै शिक्षासँग सम्बन्धित उजुरी धेरै छन् । ‘विकास निर्माण तथा कर्मचारी व्यवस्थापनमा स्थानीय तह बढी सक्रिय भएका कारण पनि स्थानीय तहसँग सम्बन्धित उजुरी बढी आउन थालेका छन्’ कार्यालय प्रमुख ज्ञानराज सुवेदीले भने ।’
स्थानीय तहसँग सम्बन्धित १ सय ५५ उजुरी परेका छन् ।
यस्तै अख्तियारमा शिक्षामा उजुरी धेरै परेका छन् । स्थानीय तहमा शिक्षक नियुक्ति, विद्यालयका भवन निर्माण गर्दा अनियमिता र काममा गुणस्तर नभएको भन्दै बढी उजुरी आउने गरेको कार्यालय जनाएको छ ।
चालु आर्थिक वर्षको कात्तिकसम्ममा कर्णाली प्रदेशका १ सय ४५ उजुरी आयोगमा परेका छन् ।
यसैबीच चालु आर्थिक वर्षको चार महिनामा ३ सय २३ उजुरी परेका छन् जसमध्ये सबैभन्दा बढी १ सय ६ वटा सुर्खेतबाट छन् ।
कार्यालयले यो चालु आर्थिक वर्षमा १ जनलाई रंगेहात पक्राउ गरेको छ । अनुसन्धानका क्रममा यस चालु आर्थिक वर्षमा मात्र ११ लाख ७३ हजार ९ सय ९१ रुपैँया असुली गरेको छ ।
उज्यालोबाट