विभिन्न कार्यक्रम गरी अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

  नयाँ बुलन्द
0 Shares

इलाम : २७ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस इलामको फाकफोकथुम गाउँपालिकामा विविध कार्यक्रम गरी मनाइएको छ ।

फाकफोकथुम गाउँपालिकाको लुम्दे, एकतप्पा, फूएतप्पा, आमचोक र फाकफोकमा विविध कार्यक्रमका साथ मनाइएको छ ।

अपाङ्गता भएका व्यक्तिको हक तथा अधिकारका बारेमा प्रत्येक वर्ष डिसेम्वर ३ तारिखको दिन अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइदै आएको छ ।

फाकफोकथुमको आमचोकमा स्वावलम्वन समूहका अध्यक्ष रूपनारायण लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा अपाङ्गता भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । आमचोकका विभिन्न विद्यालयमा अध्ययनरत १४ जना अपाङ्गता भएका विद्यार्थीलाई झोला, कपी र डटपेन वितरण गरिएको हो ।

यसैगरी अपाङ्गता भएका धनबहादुर राई र पूर्णमाया राईलाई ज्याकेट तथा स्वेटर प्रदान गरियो । आर्थिक अवस्था कमजोर भएका उनीहरूलाई करूणा फाउण्डेशन नेपाल तथा फाकफोकथुम गाउँपालिकाको तर्फबाट सम्मान स्वरूप स्वेटर तथा ज्याकेट प्रदान गरिएको करूणा फाउण्डेशन फाकफोकथुम गाउँपालिकाका संयोजक गोविन्दप्रसाद लामिछानेले बताए ।

कार्यक्रममा सिंहदेवी माविका प्रधानाध्यापक मोतिखर पोखरेल, स्वावलम्वन समूहका सचिव उद्धव लामिछाने, शिक्षक दिपेन्द्र पराजुली, जयनारायण राईलगायतले बोलेका थिए ।

‘मलाई गणना गर, समावेश गर’ भन्ने मूल नाराका साथ आयोजित २७ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा फूएतप्पामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वावलम्वन समूहका अध्यक्ष प्रविन राईको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद दंगाली, स्वास्थ्य चौकीका ईञ्चार्ज शिवनाथ यादवलगायतले अपाङ्गता भएका व्यक्तिहरूको हक र अधिकारका विषयमा चर्चा गरे ।

लुम्दे, एकतप्पा तथा फाकफोकमा पनि अन्तरक्रिया कार्यक्रम तथा अपाङ्गता भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।

यसैगरी जिल्लाका देउमाई नगरपालिका, इलाम नगरपालिका, माई जोगमाई गाउँपालिका, सन्दकपुर गाउँपालिकामा पनि दिवस भव्य रुपमा मनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार