माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका १ नयाँबजार स्थित बालागुरु खेल मैदानमा जारी प्रथम माइजोगमाई अध्यक्ष कप फुटबल प्रतियोगितामा शनिबार तीन खेल समपन्न भएका छन् ।
पहिलो खेलमा अमर कल्याण मावि नयाँबजारलाई २-१ गोल अन्तरले पराजित गर्दै पूर्व क्षितिज फुटबल क्लब सोयाङ्गले जित हासिल गरेको छ । दोस्रो खेलमा प्याङ फुटबल क्लब ‘बी’ ले सामाजिक युवा विकास समाज सोयाङलाई पराजित गर्दै अघिल्लो चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ । निर्धारित समयमा गोलरहित बराबरीमा खेल सम्पन्न भएपछि खेलको निर्णय ट्राइब्रेकरमा लिइएको थियो । टाइब्रेकरमा सामाजिक युवा विकास समाजले ४ गोल गर्दा प्याङ फुटबल क्लबले ५ गोल गर्दै अघिल्लो चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
तेस्रो खेलमा रेड डेविल्स नयाँबजारले सोयाङ स्पोर्टिङ्ग क्लबलाई पराजित गर्दै विजयी भएको छ । खेलको सुरुवात देखिनै राम्रो लयमा प्रस्तुत भएको रेड डेविल्स नयाँबजारले ७ गोल गर्दा सोयाङ स्पोर्टिङ्ग क्लब भने २ गोल गर्दै लज्जास्पद हार बेहोर्न बाध्य बन्यो ।
माइजोगमाई गाउँपालिकाको मुख्य प्रायोजनमा माईजोगमाई खेलकुद विकास समिति र माइजोगमाई फुटबल क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद १ लाख सहित २० तोला चाँदीको माईजोगमाई रनिङ शिल्ड र उपविजेताले नगद ५० हजार र तृतीयले नगद २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
त्यस्तै उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलरक्षक, अनुशासित टीम र म्यान अफ दी म्याचलाई विधागत पुरस्कार समेत व्यवस्था गरिएको आयोजक माइजोगमाई खेलकुद विकास समितिका अध्यक्ष प्रविण राईले जानकारी दिए ।
माइजोगमाई गाउँपालिका भित्रका १८ टीमको सहभागीता रहेको सो प्रतियोगिताको फाइनल खेल आगामी २५ मंसिरमा हुनेछ ।