इलाम : ५ वर्ष पहिलेसम्म दसैं-तिहार जस्ता ठुलो चाड सकिए लगत्तै इलामको विभिन गाउँ(ठाँउहरुमा लाग्दै आएको आफ्नै धर्मसंस्कारमा लाग्ने मेला बजारहरु अचेल लाग्न छाडेका छन् ।
तत्कालिन नेकपा माओवादीको १० वर्षे सशस्त्रत द्वन्द्वकालको समयमा आफ्नो ज्यानको कुनै प्रभाह समेत नगरी निरन्तर लाग्ने गरेकेका ती मेलाबजारहरु लाग्न छोडेका हुन् । मेला लाग्न छाडेसँगै ती ठाउँहरु इतिहासमा मात्र सीमित हुने देखिएको छ ।
प्याङको सोमबारे बगरमा लाग्ने पुर्णे मेलाको ईतिहास १ सय ५० वर्ष अगाडीदेखिको हो । बैशाखे पुर्णे र मंसिरे पुर्णेमा वर्षको २ पटक लाग्ने मेला ५ वर्षदेखि लाग्न छाडेको छ । वर्खाभरी काम गरी अन्न रोपेर मंसिरमा मुरि फलाएर भित्राएपछि सुरु हुने मेला बजारहरुमा लामो समयसम्म भेटघाट नभएको आफन्तजनदेखि मेला बजारमा ३ दिन ३ रातसम्म धान नाचेर नै बिबाह गर्ने गर्दथे ।
सोमबारे मेलामै २२ वर्ष अगाडी धान नाचेर विवाह गरेका प्याङका हिमाल थेबेलाई अहिले मेला बजार लाग्न छोडेकोमा दुखेसो पोख्दै भन्छन् ‘हाम्रो दुखसुखको बिसौनी र साथी भाईसँगको भेटघाट चौतारी भनेकै त्यही मेला बजार थियो । अब कहाँ गएर आफ्नो मनका कुराहरु पोख्ने कहा त ?’ बिगत बर्षमा यस्तै मेला बजारमा चिनजान गरेरे बिबाह गर्ने परम्परा थियो । हाल सूचना प्रविधिको विकास सँगै हातहातमा मोबाइलदेखि सूचनाका आधुनिक प्रविधि भएकोले यस्ता मेला बजार हराएको प्याङका भिम बहादुर थेबे बताउँछन् ।
पहिलेको मेला बजारले धर्म संस्कृतिको जगेर्ना गर्दै आएकोमा हाल ती पुरानो संस्कार हराउन थालेको उनको कथन छ । जमुनाको बुधबारेमा लाग्ने लक्ष्मी मेला लाग्न छोडेको ७ बर्ष भएको छ । जहाँ हालको सन्दकपुर गाउँपालिका र माईजोगमाइ गाउँपालिकाको जमघट हुने थलो थियो । ‘यहि मेलामा रातदिन धान नाचेको जमुनाका प्रेम थेबेलाई हिजोअस्ती जस्तो लाग्छ । यो मेला लाग्न छोडेसँगै धान नाच नाचेको देख्न पनि पाएको छैन’ उनले भने । यसरी मेलाबजार लाग्न छोडेसँगै लिम्बूको धान नाच र हाक्पारे लोप हुनेमा प्रेमलाई ठुलै चिन्ता छ ।
माबुमा लाग्ने चतुरे मेला र जोगमाईको देउको थानमा लाग्ने मेलाहरु लाग्न छोडेको धेरै वर्ष बितिसक्यो । प्याङको सोम्बारे बगरमा बैसाख पुर्णमा लाग्ने मेलामा राईहरुले रातभरी नाच्ने चण्डी नाच हाल गाउँघरमा दुर्लभ हुन थालेको छ । यसरी मेला बजार लाग्न छोडेसँगै विभिन्न जातजातिको रितिरिवाजहरु लोप भएर जान थालेका छन् ।