बिहीबारदेखि माङसेबुङमा ‘लिम्बू भाषा’ सरकारी कामकाजमा आउने

फाइल तस्वीर

इलाम : विहीबारदेखि इलामको माङसेबुङ गाउँपालिकामा ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषाको रुपमा प्रयोगमा आउने भएको छ । माङसेबुङ गाउँपालिका वडा नम्बर ५ ले सरकारी कामकाजी भाषाको रुपमा देशमै पहिलोपटक ‘लिम्बू भाषा’ लाई कार्यान्वयन प्रारम्भ गर्ने वडा अध्यक्ष नरेन्द्र राईले जानकारी दिए ।

लिम्बू बाहुल्यताका आधारमा वडामा कामकाजी भाषाको रुपमा ‘लिम्बू भाषा’ को कार्यान्वयन सुभारम्भ गर्ने सम्पूर्ण तयारी पूरा भएको वडा अध्यक्ष राईले जानकारी दिए । कार्यान्वयनको औपचारिक घोषणा प्रदेश १ का सांसद धिरेन्द्र शर्मा (रमण) बाट गरिने तयार भएको वडा कार्यालयले जनाएको छ ।

‘यसअघि गरेको निर्णअनुसार बिहीबारदेखि औपचारिक रुपमा ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजमा प्रयोग गर्ने तयारी गरेका छौं’ वडा अध्यक्ष राईले, ‘यो कामले सिङ्गो गाउँपालिका र प्रदेशलाई नै कामजकाजी भाषाको रुपमा बाहुल्यताका आधारमा स्थानीय भाषा प्रयोग गर्न दवाव मिल्नेछ ।’

लिम्बू समुदायको बाहुल्यता रहेको त्यस वडामा स्थानीय भाषाको सम्मान गर्दै लिम्बू भाषालाई समेत सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने निर्णय गरिएको वडाअध्यक्ष राईको भनाई छ । वडामा दोभासे कर्मचारी नभएपनि ‘लिम्बू भाषा’ र ‘किरात सिरजंगा लिपि’ को आधार क्षेत्र भएकाले माङसेबुङबाटै सरकारी कामकाजमा ‘लिम्बू भाषा’ प्रयोग गर्ने तयारी गरिएको उनले बताए ।

सो वडाको गत १५ कात्तिकमा बसेको बैठकले नेपालमै पहिलो पटक ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो । विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजिवी र संघसंस्थाहरुको संयुक्त बैठकले सो निर्णय गरेर तयारी सुरु गरेको थियो ।

हालसम्म वडा र गाउँपालिकामा कोही पनि बहुभाषिक कर्मचारी नियुक्त भएका छैनन् । तर स्थानीय भाषा कामकाजी भाषाको रुपमा प्रयोग हुन थालेपछि गाउँपालिकासँग दोभाषे कर्मचारी नियुक्त गर्न माग गर्ने उनले बताए । ‘हामीसँग अहिले दोभाषे कर्मचारी छैनन् । कर्मचारी नियुक्तिका लागि गाउँपालिकासँग माग गर्नेछौं’ अध्यक्ष राईले भने, ‘तत्काल लिम्बू भाषा जानकार स्थानीय पाँच जना स्वयम्सेवकबाट सहयोग लिनेछौं । त्यसका लागि स्वयम्सेवक समिति समेत गठन गरेका छौं ।’ समितिले गाउँपालिकाबाट दोभासे कर्मचारी नियुक्त नभएसम्म स्वयम्सेवकको भूमिका निर्वाह गर्नेछ ।

६ वटा वडा रहेको माङसेबुङ गाउँपालिकाका अन्य वडाले भने सरकारी कामकाजी भाषाको रुपमा कुनैपनि स्थानीय भाषालाई प्रयोग गर्ने निर्णय गरेका छैनन् । गाउँपालिकाले पनि लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्ने निर्णय गरेको छैन । गाउँपालिकाको नीति तथा कार्यक्रममा समेत स्थानीय भाषाको बारेमा केही समावेश गरेको छैन ।

गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गोले तत्काल स्थानीय भाषालाई सरकारी कामकाजी भाषामा प्रयोग गर्ने गाउँपालिकाको योजना नरहेको बताए । संविधानले स्थानीय भाषालाई समेत सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्न पाउने अधिकार स्थानीय सरकारलाई दिएको भएपनि आवश्यक जनशक्तिको अभावमा कार्यान्वयन नगरिएको इधिङगोले बताए ।

‘हामीसँग पर्याप्त जनशक्ति छैन । भाषा अनुवादकको समेत आवश्यकता पर्छ । यी सब व्यवस्थापन गर्न आवश्यक जनशक्ति नभएकाले तत्काल स्थानीय भाषालाई सरकारी कामकाजी भाषाका रुपमा प्रयोग गर्ने निर्णय नगरिएको हो’ अध्यक्ष इधिङगोले भने, ‘स्थानीय सरकार भर्खर जन्मेर बामे सर्दै गरेको छ । यस बारेमा पछि योजना बनाउनेछौं ।’

यसअघि माङसेबुङ गाउँपालिकाले गाउँपालिका भरीका सबै सरकारी कार्यालय तथा विद्यालयको साइन बोर्ड देवनागरी र किरात सिरिजंगा लिपिमा उल्लेख गर्ने निर्णय भने गरिसकेको छ । गत वर्षको गाउँसभाले दुवै भाषा र लिपिमा बोर्ड उल्लेख गर्ने निर्णय भएको अध्यक्ष इधिङ्गोले बताए ।

लिम्बू समुदायको साझा संस्था किरात याक्थुङ चुम्लुङ र लिम्बू विद्यार्थी मंचले १ नम्बर प्रदेश सहित प्रदेशका सबै सरकारी कामकाजी भाषाको रुपमा लिम्बू भाषालाई पनि लागू गर्न माग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार