लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सुरु

  नयाँ बुलन्द
0 Shares

इलाम  : लैंगिक हिंसा विरुद्ध २६ दिने अभियान इलाममा आइतबार सुरु भएको छ । इलाम नगरपालिका र जिल्ला प्रशासन कार्यालयको संयुक्त आयोजना अभियान सुरु भएको हो ।

इलामको ठूलो टुँडिखेलबाट सुरु भएको प्रभातफेरी इलाम चोकबजारमा कोणसभामा परिणत गरी अभियानको औपचारिक उद्घाटन गरिएको थियो ।

अभियानको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बराल गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रावणकुमार तिम्सिना, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, सुरक्षा निकायका प्रमुख साथै विभिन्न कार्यालय एवं संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

‘घर शान्ति नै विश्व शान्तिको आधार, दमनको प्रतिवाद गरी महिला विरुद्धको हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ सुरु भएको अभियान आगामी २४ मंसीरसम्म संचालन हुनेछ ।

अभियानका क्रममा विभिन्न सचेतनामूलक कार्यक्रम संचालन हुनेछन् । अभियान अन्तरगत महिला हिंसा विरुद्ध भइरहेका प्रयासका विषयमा सम्बन्धित सरोकारवालासँग छलफल, हिंसा रोक्न अपनाउने रणनीति, पीडितलाई समयमै न्याय र पीडकलाई कारबाही गर्न ध्यानाकर्षण गराउने, लैंगिक हिंसा विरुद्ध एवं महिला अधिकारको निम्ति सचेतनामूलक कार्यक्रम, जागरण अभियान, छलफल तथा अन्तरक्रिया कार्यक्रम संचालन हुनेछन् ।

नेपालमा हिंसा विरुद्धका घटनामा न्युनीकरण नआएकाले ‘महिला विरुद्ध हुने सबै हिंसा अन्त्य गरौं, शुन्य सहिष्णुता कायम गरौं’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ । हरेक वर्षको नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० सम्म महिला हिंसा विरुद्ध १६ दिने अभियान संचालन गरदैं आइएको छ । पछिल्लो एक तथ्याङ्क अनुसार विश्वका ७० प्रतिशत महिला कुनै न कुनै रुपमा हिंसामा पर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार