इलाम : इलामको माङसेबुङ गाउँपालिका ५ मा जारी आत्मानन्द गोल्डकप फूटबल प्रतियोगिता अन्तरगत आइतबार (आज) संगम फूटबल क्लब धरान सुनसरी र जलपाइगुडी एफसी भारतबीच प्रतिष्पर्धा हुँदैछ ।
माङसेबुङ खेलमैदानमा दिउँसो १ बजे हुने प्रतियोगिताको दोस्रो खेल अन्तरगत संगम फूटबल क्लब धरान सुनसरीले पाहुना टोली जलपाइगुडी एफसी भारतको सामना गर्नुपर्नेछ ।
यसअघि शनिबार भएको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिका खेलकुद समितिलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै चन्द्रगडी सेमीफाइनल प्रवेश गरिसकेको छ । निर्धारीत समयमा दुर्व टिमबाट गोलरहित बराबरीमा खेल सम्पन्न भएपछि टाईब्रेकरको आधारमा विजेता निर्धारण गर्नुपरेको थियो । टाइब्रेकरमा चन्द्रगडीका साइमान लिम्बू, कमल खवास, मिलन राई, संजोग धिमाल र सुवास तामाङले गोल गरे ।
उता माङसेबुङका तर्फबाट भने शेरे लिम्बू, सुसान्त कार्की, आङसाङ साँवा र रोनिस राईले गोल गरे भने इसाम राई गोल गर्नबाट चुकेका थिए ।
खेलको म्यान अफ दी म्याच विजेता चन्द्रगडीका साहीमान लिम्बू घोषित भए । उनले नगद १ हजार ६५ रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताका विजेताले नगद एक लाख ८ हजार ६५ रुपैयाँ तथा उपविजेताले नगद ७५ हजार ६५ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृठ खेलाडी, उत्कृष्ठ डिफेन्डर र उत्कृष्ठ गोलकिपरले नगद ८/८ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
इलाम, झापा, पाँचथर, ताप्लेजुङ, सुनसरी, धनकुटा, काठमाडौं र भारतका गरी ८ टिमको सहभागीता रहेको प्रतियोगिताको फाइलन आगामी १७ मंसीरमा हुनेछ ।
प्रतियोगिता किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६५ औं शुभजन्मोत्सवको अवसरमा आयोजना गरिएको हो ।