सप्तरी : बस दुर्घटनामा परी पाँचजनाको मृत्यु र ४९ जना घाइते भएपछि सिंगो सप्तरी जिल्ला शोकमा डुबेको छ ।
सुनसरीको बराहक्षेत्रबाट कात्तिक पूर्णिमाको मेला भरी फर्कनेक्रममा शुक्रबार राति सप्तरीको इनरुवामा को१ख २७९९ नम्बरको बस अनियन्त्रित भइ दुर्घटना हुँदा डाकनेश्वरी नगरपालिका–४, भूतहीका दिनेश रजक, उनकी श्रीमती सुनीलादेवी तथा वडा नम्बर–५, पातोका बेचनीदेवी यादव, ठकनीदेवी यादव र सिकिलदेवी साहको मृत्यु भएको थियो ।
पाँचजनाको मृत्युले भूतही र पातो क्षेत्रमात्र नभइ सिंगो जिल्ला नै शोकमा डुबेको हो ।
शोकमा आइतबार (भोलि) जिल्ला समन्वय समितिसहित जिल्लाका १८ ओटै स्थानीय तह बन्द गरिएको जिससका प्रमुख प्रभाकर यादवले बताए ।
घटना सुनेलगत्तै रातिदेखि नै घटनास्थल र अस्पताल पुगेर स्थानीय तहका प्रमुख, अध्यक्षसहित राजनीतिक दलका कार्यकर्ता, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, समाजसेवीले आर्थिक तथा भौतिक सहयोग गरेर घाइतेको उद्धार गरेका थिए ।
दुःखद्पूर्ण घटनाले जिल्लामा नै सन्नाटा छाएको र आफूलाई स्तब्ध बनाएको राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलको भनाइ छ ।
प्रदेशसभा सदस्य रुवि कर्णले मृतकप्रति श्रद्धाञ्जलि र घाइतेको स्वास्थ्यलाभको कामना गर्दै घटनाको छानबिन गर्न विज्ञप्तिमार्फत् माग गरे ।
यसैगरी, शनिबारै अपराह्न घाइतेलाई भेट्न राजविराज आएका प्रदेश नम्बर–२ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले मृतकका परिवारलाई जनही रु एक लाख र घाइतेको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने घोषणा गरे ।