इलाम : इलामको माङसेबुङ गाउँपालिका १ स्थित प्रसिद्ध धार्मिक स्थल गजुरमुखी धाममा पूर्णिमा मेला सकिएको छ ।
परापूर्व कालदेखि कात्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको गजुरमुखी मेला धुमधामका साथ तीन दिनसम्म लागेको थियो ।
मेलामा तिन दिनसम्म नै बिहानैदेखि धाममा दर्शन तथा पूजापाठ गर्न र मेला भर्न आउने भक्तजनहरुको घुईचो लागेको थियो ।
धाम आसपासमा पाल टागेर पाँचसय बढी अस्थायी टहराहरु निर्माण गरी होटल तथा अन्य व्यवसायहरु संचालन गरिएको थियो ।
गजुरमुखीमा चारैतर्फबाट मेला भर्न र धाममा दर्शन गर्न, भाकल बुझाउन र पूजापाठ गर्न आउनेहरुको संख्या धेरै रहेको थियो ।
धाममा माङसेबुङ गाउँपालिकाको इभाङ र गजुरमुखी, देउमाई नगरपालिकाको धुसेनी र जितपुर, माई नगरपालिकाको महमाई र फाकफोकथुम गाउँपालिकाको लुम्दे, एकतप्पा, फुएतप्पा लगायतको बाटो हुदै पैदल र सवारी साधनमार्फत मेला भर्न आएका थिए ।
मेलाको अवसरमा विभिन्न कार्यक्रमहरु समेत भएको थियो । तीन दिनसम्म लागेकोे मेलाको अवसरमा राट्रिय कलाकारहरुको साथमा बृहत सास्कृतिक जमघट पनि भएको छ ।
कार्यक्रममा चर्चित गायिका ज्योति मगर, हास्य टेलिश्रङ्खला भद्रगोलका कलाकार जिक्री ब्रो र पाणे बुढोको लगायत स्थानीय कालाकारको प्रस्तुतीमा धरै दर्शहरु रमेको मेला आयोजक समितिका अध्यक्ष सुरेन्द्र नेम्बाङले जानकारी दिए ।
त्यस्तै लिम्बूहरुको धान नाच (याःलाङ), च्याब्रुङ नाच (केलाङ), लोकदोहोरी समेत आयोजना भएको छ ।
मेलालाई व्यवस्थित गर्न मूल आयोजक समिति र अन्य विभिन्न उपसमितिहरु क्रियाशिल रहेका थिए ।
गजरमुखी धाममा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । बोलि नआएकाहरुको बोलि आउने र सन्तान नभएकाहरुको सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहेकाले यहाँ देवीको दर्शन र पूजा अर्चना गर्न अहिले संयौको संख्यामा भक्तजनहरु आउने गरेका छन् ।
मेला भर्न, दर्शन तथा पूजापाठ गर्न इलामसँगै पूर्वी नेपालको झापा, मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटाका तथा भारतको सिक्किम, दार्जिलिङ, खर्साङ, कालेङबुङ लगायतका ठाउँहरुबाट समेत भक्तजनहरु आएका थिए ।
मेलाको अवलोकन करिब ५० हजार बडिले गरेको आयोजक समितिका अध्यक्ष सुरेन्द्र नेम्बाङले जानकारी दिएका छन् ।
इलाम सदरमुकामदेखि करिब ४० किलोमिटर पश्चिममा अवस्थित गजरमुखीको दर्शन गरेमा बोलि नआएकाहरुको बोलि आउने र सन्तान नभएकाहरुको सन्तान प्राप्ति हुने जनविश्वास रहेको छ ।