काठमाण्डौ : किरात धर्म दर्शनदाता, समाजसुधारक मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको तस्वीर नयाँ रुपमा आज कात्तिक २५ गते फेदेनमा सार्वजनिक भयो। किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’बाट किरात धार्मिक पर्व महागुरु फाल्गुनन्द जयन्तीको शुभ अवसरमा सो तस्वीर सार्वजनिक भएको हो। सोही अवसरमा चित्रकार रामबहादुर ठाडा र निर्माण संयोजक सूयविक्रम चेम्जोङलाई प्रशंसा पत्र प्रदान गरिएको छ।
पृष्ठभूमि
महागुरु फाल्गुनन्द लिङ्देनले किरात धर्मावलम्बीहरुको मुक्तिको ढोका खोल्न १९९३ सालदेखि सिन्चेई फक्ताङलुङ यात्रा शुरु गर्नुभयो। हरेक वर्ष फक्ताङलुङ जाने क्रममा १९९५ साल असार २० गते चेलाहरुसँग खिचिएको २ वटा श्यामश्वेत तस्वीरहरुमा प्राप्त भएको छ। जसमा, महागुरु फाल्गुनन्द ध्यान मुद्रामा बीचमा बस्नु भएको छ। सोही तस्वीरबाट महागुरुलाई मात्र कुशल चित्रकार रामबहादुर ठाडाले जीवन्तता दिएका छन्।
किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय कार्यालयबाट २०७२ साल पुस १९ गते केन्द्रीय सदस्य सूर्य विक्रम चेम्जोङले यसको संयोजनको जिम्मेवारिता वहन गरेका थिए। स्मरण रहोस्, उनी संघको संस्थापक उपाध्यक्ष दलबहादुर चेम्जोङका छोरा हुन्। सानो तथा स्पष्ट नभएको महागुरुको तस्वीरलाई उतार्न उनले चित्रकारको खोजी कार्यलाई जारि राखे फलत: उनले रामबहादुर ठाडालाई भेटी यसको औपचारिक सुरुवात २०७३ भदौ २५ गतेबाट गरे। यसलाई अन्तिम रुप दिन किरात धर्मको सर्वोच्च दुई संस्था किरात धर्म तथा साहित्य उत्थान संघ र किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका पदाधिकारीहरु, महागुरुको वंशज संस्था लिङ्देन समाजका पदाधिकारीहरुबाट अनुमोदन गराउँदै अन्त्यमा किरात धर्मगुरु तथा गुरुआमाबाट अनुमोदित गराइएको संयोजक सूर्य चेम्जोङले किरात समाचारलाई बताएका छन्। यसरी यो चित्रले २०७५ साल जेठ २८ गते पूर्णता पायो।
को हुन् चित्रकार ?
रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नं. ६ मा हेमबहादुर र खुमीसराको पहिलो सन्तानको रुपमा २०४१ साल असोज १८ गते जन्मिएका रामबहादुर ठाडा हाल भक्तपुरको गट्ठाघरमा बस्छन्। त्यही नै उनले चित्रकारिताको व्यवसाय फष्टाएका छन्। ठाडाले ललितकला क्याम्पसबाट पोट्ेरट (मुहार) चित्रकारितामा स्नातकोत्तर गरेका छन्। यस अर्थमा उनी हरेक चित्रको अनुहार राम्ररी पढ्न सक्छन्। यद्यपि, उनी ल्याण्डस्केपको तस्वीर कोर्नमा पनि उत्तिकै निपुण भएको उनका दर्जनौं कृतिहरु तथा बढ्दो मागले पुष्टि गर्दछ। सानै उमेरदेखि कलाकारितामा लागेका उनले आफ्नो यो सौखलाई विगत केही वर्ष यता व्यवसायमा बदल्न सफल भएका छन्। उनले व्यवसायिकताको करिब २ दशकको समयावधिमा सयौं मुहारहरु कोरिसकेका छन्, तर सानो छँदा विद्यालयमा पढेको किरात धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको कुनै दिन आफैले चित्र बनाउँला, नजिकबाट वहाँको मुहार पढौंला भन्ने सोचेका सम्म पनि थिएनन्। तर, संयोगवश उनले यो काम गर्न पाए। अहिले उनी दंग परेका छन्, किनकि किरात धर्मको महान व्यक्तिको तस्वीरलाई जीवन्तता दिने कार्य गरेर उनी किरात धर्मको इतिहासमा उल्लेखनीय महत्वपूर्ण पात्र बनिएका छन्।