इलाम : मौसम अनुकूल भएपछि यो वर्ष इलाममा किवी खेती फस्टाएको छ ।
आर्थिक वर्ष २०७३/७४ को तुलनामा २०७४/७५ मा गरिएको किवी खेतीको उत्पादन २८ प्रतिशतले बढ्ने कृषि ज्ञान केन्द्र इलामले जानकारी दिएको छ । इलामको सुलुबुड, साँखेजुड, जमुना, माइमझुवा, माबु, माइपोखरी, बरबोट, चमैता, शान्तिडाँडा, बाँझोका किसानले पर्याप्त मात्रामा किवी खेती गरेका छन् ।
केही वर्षअघि मात्र सुरु भएको किवी खेती इलामका ३५ स्थानमा विस्तार भइसकेको र यसको खेतीमा ४ सय किसान संलग्न भइसकेका छन् ।
किवी खेतीबाट वार्षिक पाँच करोड बढीको कारोबार हुने गरेको छ । अर्ग्यानिक रुपमा किवी खेती गर्दा बजारको समस्या नहुने भएकाले इलाममा किबीमा किसानको आकर्षण बढेको हो ।
एक बोटमा करिव दुई सय किलोसम्म उत्पादन हुने किवी मकैबारी, चियाबारी र अलैंची लगाइएको बारीमा समेत रोप्ने गरिएको छ ।






















































