इलाम : किरात धर्मका महागुरु तथा १६ औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको जन्मजयन्तीका दिन इलामका तीन स्थानीय तहले सार्वजनिक बिदा दिने भएका छन् ।
जन्मजयन्तीका दिन इलामका एक नगरपालिका र दुई गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । महागुरु लिङ्गदेनको १ सय ३४ औँ जन्मजयन्ती इलामको माङ्गसेबुङ्ग र फाकफोकथुम गाउँपालिका तथा माइ नगरपालिकाले विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । तीन वटै नगरपालिकाले आउँदो कार्तिक २५ गते सार्वजनिक बिदा दिने भएका छन् ।
माइनगरपालिकाले नगरका विभिन्न पाँच स्थानमा किराँत धर्मावलम्बीहरुको आयोजनामा विभिन्न कार्यक्रम गरी जन्मोत्सव मनाउने भएको छ । यस्तै माङ्गसेबुङ्ग गाउँपालिकामा भने गुरुनीजि आश्रम कृषि उपसमितिको आयोजनामा माङ्गसेबङ्ग–१, गजुरमुखीमा कार्यक्रम गर्नेछ ।
फाकफोकथुम गाउँपालिकाले किराँत माङ्गहिम संरक्षण समितिको आयोजनामा किराँत माङ्गहिम रुपाटारमा विभिन्न कार्यक्रम गरी जन्मोत्सव मनाउने तयारीमा जुटेको फाकफोकथुम गाउँपालिकाका उपाध्यक्ष सरस्वती राईले जानकारी दिइन् ।
त्यस दिन गाउँपालिका र नगरपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय तथा विद्यालहरुमा बिदा दिइने भएको छ । इलामको माङ्गसेबुङ्ग गाउँपालिकालाई लिङ्गदेनको जन्मथलो, फाकफोकथुममा आश्रम बनाएर बसेको र देऊमाई नगरपालिका वडा नम्बर २ को खत्रक्पामा ज्ञान हासिल गरेको स्थान माइनगरपालिकाको नजिक पर्ने भएकाले तीनवटै स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको माइ नगरपालिका प्रमुख दीपककुमार थेवेले बताए ।
लिङ्गदेनको जन्मजयन्तीको अवसरमा झापाको दमक नगरपालिका र पाँचथरको फाल्गुनन्द गाउँपालिकामा समेत गएको वर्ष सार्वजनिक बिदा दिइएको थियो ।