महागुरु फाल्गुनन्दका केही महत्वपूर्ण कार्यहरु

  आङ्बुहाङ अबोध अविरल
84 Shares

आङबुहाङ अबोध अविरल

अवधारणा

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द (वि.सं. १९४२-२००५) समान्य किसान परिवारमा जन्मनुभयो । आर्थिक कठिनाई, विधंशकारी प्रथम विश्वयुद्ध र निरंकुश राणा शासनकबीच वहाँको जीवन बितेको थियो । चुनौतीमाझ आध्यात्मिकता, मानवता, समानता, अहिंसा, शान्ति, प्राणी रक्षा र वातावरण संरक्षणका निम्ति धेरै कामहरु गर्नुभयो । वहाँको कार्यको उच्च मूल्यांकन गर्दै राज्यले राष्ट्रिय विभूतिका रुपमा विभूषण ग¥यो । महागुरु फाल्गुनन्दका कार्यहरुको कम बहसभएका पक्षहरुबारे यस लेखमा उल्लेख गर्ने प्रयास गरिएको छ ।

शान्ति र अहिंसाको वकालत

महागुरु फाल्गुनन्द वि.सं. १९६४ मा अंग्रेजको गोर्खाली पल्टनमा भर्ना हुनभयो । वहाँले १२ वर्ष फौजी जीवन बिताउनु भयो । ‘वि.सं. १९७१ साउन १३ मा पहिलो विश्वयुद्ध भई १९७५ कात्तिक २६ समाप्त भयो । युद्धमा ९० लाख सैनिक र ७० लाख सर्वसारधण मारिएको थियो ।’ पहिलो विश्वयुद्धमा महागुरु फाल्गुनन्द ब्रिटिस गोर्खा सेनामा कार्यरत हुनुहुन्थ्यो ।

प्रथम विश्वयुद्धताका महागुरु फाल्गुनन्द ‘ध्यानी हवल्दार’को रुपमा परिचित हुनुहुन्थ्यो । वहाँको कमाण्डमा एक सेक्सन सिपाई युद्धमा खटिएको थियो । युद्ध चलिरहेको एकदिन आफ्ना सेक्सन सिपाईहरुलाई भन्नुभयो, ‘हेर! दुश्मन भनिनेहरु पनि हामी जस्तै मानिस हुन् । जर्मनहरुले हाम्रो केही पनि बिगारेका छैनन् । उनीहरुलाई स्वास्नी, छोराछोरीले दुःख पाउँछन् । तर, सरकारको नूनपानी खाएको छौं, नुनको सोझो गर्नुपर्छ । हुकुम पालना गर्नैपर्छ । यसकारण गोली कि अकाशतिर कि भुँइतिर हान्नु, मान्छेलाई ताकेर नहान्नु । माङलाई सम्झनु । सत्य र धर्ममा बसियो भने मरिंदैन।’

युद्धको शान्तिपूर्ण सामाधानका पक्षमा महागुरु फाल्गुनन्द हुनुहुन्थ्यो । वहाँ हिंसा चाहनुहुन्न थियो । विश्वयुद्ध समाप्त भएपछि वहाँ स्वदेश फिर्नुभयो । पहिलो विश्वयुद्ध त्यसबेलासम्मको सबैभन्दा ठूलो युद्ध थियो । युद्धले पैदा गरेको नरसंहार, रक्तपात, विधंस, पीडा, वियोग र विनासप्रति सायद वितृणा थियो वहाँमा । पल्टने जीवनपछि वहाँले शान्ति र अहिंसाका पक्षमा वकालत गर्नुभयो ।

महागुरु फाल्गुनन्दले नेपाल, भारत, भुटान र वर्मा पुगेर विश्व शान्ति र अहिंसाको शन्देस छर्नुभयो । महागुरु फाल्गुनन्द वि.सं. १९७६, १९८६ र १९९३ मा भुटान भ्रमण गर्नुभएको थियो । त्यसबेला साम्ची राजरुख, ताला, ढुङगेना, छुसा, छुङफोलिङ र कोठीलाइन र तुम्बापो गाउँमा भ्रमण गर्नुभयो । भुटान दाँगापेला ६ महिनासम्म बसेर किरात लिपि, मुन्धुम र विश्वशान्तिबारे प्रचार—प्रसार गर्नुभयो ।

पल्टने जीवनपछि महागुरुले कुनै बिलासी जीवन र सुःख सहेंलको खोजी गर्नुभएन । सुविधासम्पन ठूला शहर रोज्नुभएन । पूर्वी नेपालको डाँडाकाडाँ, गाउँघर घुम्नुभयो । समाजमा द्वन्द्व, मारकाट, लडाई झगडाको कारकतत्वको खोजी गर्नुभयो । अधिक मद—मदिराको सेवन, अशिक्षा र राज्यद्वारा अधिकारको असमान वितरण द्वन्द्वका कारणको रुपमा पाउनुभयो । यसबाट समाजलाई बाहिर ल्याउन के गर्न सकिन्छ भनेर तत्कालीन लिम्बुवान (पूर्वी नेपाल) का थुम तथा गाउँ प्रमुख सुभा र तुम्याहाङहरुसँग थुप्रै चुम्लुङ (बैठक) गर्नुभयो । त्यसमध्ये सबैभन्दा बृहत र ऐतिहासिक महत्वको चुम्लुङ चाहिँ वि.सं. १९८८ बैसाक २४ गतेको पान्थर लब्रेमा सम्पन्न चुम्लुङ थियो ।

महागुरु फाल्गुनन्दले वि.सं. १९९४ साल हिउँदमा आफ्ना चेलाहरुका साथ माझ किरात भ्रमणमा गर्नुभयो । त्यसबेला वहाँले उदयपुर, ओखलढुङगा र भोजपुरका गाउँ—गाउँ डुलेर भाषा, लिपि, संस्कृति, शान्ति र आध्यात्मिकताबारे प्रचार—प्रसार गर्नुभएको थियो ।

मातृभाषामा शिक्षाको पहल

समाजको पछौटेपन र अज्ञानताका कारणका रुपमा ‘अशिक्षा’ रहेको महागुरु फाल्गुनन्दले थाहा पाउनुभयो । महागुरु फाल्गुनन्दको पहलमा वि.सं. १९८८ बैसाक २४ गते शुरुभएको लिम्बुवान क्षेत्रका प्रशासनिक प्रमुख सुभा, सर्वसाधरण, भक्तजन र तुम्याहाङहरुको भेलाले सातबुँदे सत्यधर्म मुचुल्का निर्माण ग¥यो । मुचुल्कामा युमा माङहीम स्थापना गर्ने तथा मातृभाषामा शिक्षा दिन स्कूल खोल्ने उल्लेख गरेको थियो । त्यसबेला विद्यालयहरु खोल्न सहज थिएन । माङहीमहरुमा मुन्धुम शिक्षा लिने व्यवस्था गर्नुभयो । मुन्धुम पठन—पाठनका माध्यमबाट हजारौं भक्तजनलाई साक्षर भए ।

महागुरु फाल्गुनन्दले नेपालमा मातृभाषाको विषय उठान गर्नुभएको समय आम नागरिकका निम्ति शिक्षा लिने व्यवस्था थिएन । राणा शासकहरुले अंग्रेजी र संस्कृत भाषामा शिक्षालाई जोड दिइरहेका थिए । वि.सं. १९८६ पुस्तकालय खोल्ने योजना बनाइरहेको लक्ष्मीप्रसाद देबकोटा, सिद्धिचरण श्रेष्ठलगायतका दर्जनौं यूवालाई एक महिना कैद गरियो । वि.सं. १९८७ मा भीम शमसेरले पाठशाला संचालनमा रोक लगाए । अन्य आदिवासीका मातृभाषामा शिक्षाका विषय सोच्न सक्ने अवस्था थिएन । जहानीय राणा शासन कालमा शिक्षालाई नागरिकका आधिकारका रुपमा लिने गरिन्न थियो । शिक्षा शासकहरुको ताजबिजीमा थियो । शाह राजा र राणा प्रधानमन्त्रीका सन्तानका निम्ति विद्यालयहरु खोलिएका थिए ।

हाल ‘मातृभाषामा शिक्षा’ का मुद्दा शिक्षा क्षेत्रको जल्दो—बल्दो विषय हो । संयुक्त राष्ट्र संघको पहलमा सन् १९९० थाइल्याण्डको जोम्तिममा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनले ‘सबैका लागि शिक्षा’ नीति पारित गरेको थियो । सो नीतिको नेपालले पनि समर्थन गरेको थियो । सन् २००० सेनेगलको डकारमा सम्पन्न विश्व शिक्षा मञ्चको सम्मेलनले ‘डकार ढाँचा’ तयार पा¥यो । सोही ढाँचाको आधारमा नेपालले ‘मातृभाषाको माध्यमबाट आधारभूत तथा प्राथमिक शिक्षा पाउने अधिकार सुनिश्चित गर्ने नीति तय ग¥यो । ‘राष्ट्रिय शिक्षाको योजना आयोग’ले वि.सं. २०११ मा पेस गरेको प्रतिवेदनमा खस नेपाली भाषालाई शिक्षाको माध्यमको रुपमा सिफारिस ग¥यो । यसले खस नेपाली भाषाको विकासमा सहयोग पुगेपनि गैह्र खसभाषी विद्यार्थी शिक्षाको पहुँच बिस्तार हुन सकेन । मातृभाषामा शिक्षा दिँदा सिकाई उपलब्धी राम्रो हुने निष्कर्ष संसारभरका शिक्षाविदहरुले निकालेका छन् । ‘नेपालको संविधान’ धारा ३१ ले मातृभाषामा शिक्षालाई मौलिक हकको रुपमा स्थापित गरेको छ । यसले महागुरु फाल्गुनन्दको शिक्षासम्बन्धी दुरदृष्टिलाई स्पष्ट पार्छ ।

मानवता, समानता र नारीवादी आन्दोलन

महागुरु फाल्गुनन्दले सत्यधर्म मुचुल्काको माध्यमबाट अहिंसा र मानवतावादी आन्दोलन अघि बढाउनुभएको थियो । मुचुल्काले समाजमा लिङ्गीय, जातीय र भाषिक विभेदलाई हटाउन चाहेको थियो । सत्यधर्म मुचुल्काको पहिलो बुँदामा मुचुल्कामा ‘छोरी चेलीको सोतरित लिन बन्द गर्ने’ उल्लेख गरेको छ । छोरीको विवाहमा सुन, चाँदी, नगद, मासु र रक्सीको माग गर्ने चलन थियो, रहेको छ । किरात लिम्बू समुदायमा छोरीको विवाहमा ‘मोल’ नै तोकेर सोतरित लिने चलन समाजमा थियो, अझै छ ।

संसारका अधिकांश मानव समुदाय पुरुष प्रधान संरचनामा संरचित छन् । पुरुष प्रधान संरचनाले महिलाहरुलाई दोस्रो दर्जाको मानवका रुपमा स्थापित गर्दै विभेद गर्दछ । महिलालाई कमजोर र दोस्रो दर्जामा राख्न कानुन, संस्कृति र परम्पराहरु निर्माण गरिन्छ । नारीवादी लेखिका सिमोन दि विभू उनको पस्तक द सेकेण्ड सेक्स मा विवाहको माध्यमबाट महिलाई पुरुषको दास बनाउने वैधानिकता प्रदान गर्ने दावि गर्छिन् । छोरालाई जग्गा–जमिनको मालिक, जात, थर र वंशको उत्तराधिकारी मान्ने गरिन्छ । छोरीले विवाहपछि ‘श्रीमानको थर, धर्म, वर्ग…पुरुषको अर्धाङिगणी’ बनाइन्छ । ‘छोरीको विवाहमा सोतरितका नाममा सुन, चाँदी, नगद, मदिरा, तथा मासुका कोशेली लिनुलाई नारीको बिक्रीको’ रुपमा मुचुल्काले व्याखा गरेको छ । माहागुरु फाल्गुनन्दले लिङ्गीय विभेद र दमनबाट संस्कृतिलाई अलग राख्नु पर्ने मुचुल्काको माध्यमबाट जोड दिनुभएको छ ।

बलिपूजा त्याग्ने विषयलाई सत्यधर्म मुचुल्काले जोड दिएको छ । मानिस आफूलाई सर्वश्रेष्ठ प्राणी ठान्ने गर्छ । अन्य प्राणीलाई विवेकहीन र आत्मारहित प्राणीको रुपमा ठान्दछ । आफ्नो भलो हुने आशामा अन्य प्राणीको बली चढाउने चलन पनि छ । सत्यधर्म मुचुल्काले सबै प्राणीको अस्तित्वलाई सम्मान गर्ने र सबै प्राणीलाई ‘माङ (इश्वर)को सन्तान’को रुपमा व्याखा गर्ने प्रयास गरेको छ । बलीपूजा जीव हिंसासँगसम्बन्धित रहेकाले यसलाई त्यागेर अहिंसाको बाटोमा जीवनलाई डो¥याउनु पर्नेमा जोड दिएको छ । बलीपूजाको ठाउँमा फल—फूलसँग सेवा गर्नु पर्नेमा जोड दिएको छ ।

मुचुल्काले शाकाहारी जीवन पद्धतिमा जोड दिएको छ । मादक पदार्थ तथा मदिरा सेवनले व्यक्ति र समाजको स्वाथ्यमा नकरात्मक असर पार्ने भएकोले यसको सेवन नगर्ने मुचुल्कामा समावेश गरिएको छ । महागुरु फाल्गुनन्दले यी कार्यका निम्ति राजद्रोहको अभियोग भोग्नुप¥यो । वहाँलाई वि.सं. १९९०÷९१ ‘लिम्बुवानको राजा बन्न खोजेको’, ‘रीति थिति बिगारेको’ लगायतको अभियोगमा पक्राउ गरी काठमाण्डौं लगिएको थियो । यसै गरी वि.सं. १९९५ मा दोस्रोपल्ट गिरफ्तार हुनुभयो ।

मुन्धुम लिपिकरण

महागुरु फाल्गुनन्दले लिखित मुन्धुमको प्रयोगको थालनी गर्नुभयो । वि.सं. १९८८ बैसाक २४—२८ गते पान्थर लबे्रमा निर्माण गरिएको ‘सत्यधर्म मुचुल्का’ले मुन्धुमलाई लिपिबद्ध गर्ने उल्लेख गरेको थियो । वहाँले लामो समयदेखि मौखिक परम्परामा अभ्यास भइरहेको मुन्धुमलाई किरात सिरिजंगा लिपिमा लिपिवद्ध गर्नुभयो ।

‘थेबा—युमा खमा मुन्धुम’, ‘चासोक मुन्धुम’, ‘सोमाङ केमाङ मुन्धुम’, ‘साक्मुरा वदेम्बा मुन्धुम’, ‘साप्पोक चोमेन मुन्धुम’, ‘मेखिम खमा मुन्धुम’, ‘कुसाङ सेमा मुन्धुम’, ‘साम्सामा मुन्धुम’ लगायत चार दर्जन मुन्धुमहरुलाई महागुरुले लिपिवद्ध गर्नुभएको छ । वहाँ आफैमा मुन्धुमसावा हुनुहुन्थ्यो । जब वहाँमा ‘माङ लिन्छिङ’ मा गथ्र्यो, वहाँले मुन्धुम भन्नुहुन्थ्यो । चेलाहरुले किरात सिरिजंगा लिपिमा लेख्थे । चेलाहरु सँधै गाउँमा निर्मित मसी र बाँसका कलमसँगै हिड्ने गर्थे । वहाँले लिपिवद्ध गर्नुभएको मुन्धुमलाई सम्पादन र छपाईमा ल्याउने कार्य मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले गर्दै आउनु भएको छ । हाल, नेपाल, भारत (सिक्किम, दार्जिलिङ, आसाम), हङकङ, सिङगापुर, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेशीया, जापान, कोरिया, कतारलगायतका स्थानमा प्रयोग भइरहेको छ । माङसेबुङमा मुन्धुम पठनपाठन भइरहेको छ । अझ धेरै मुन्धुमहरु लिपिवद्ध हुन बाँकी रहेका छन् ।

संहिताकृत मुन्धुमहरुलाई प्रयोग र अध्यायन गर्न माङहीमहरुको स्थापना गरियो । महागुरु फाल्गुनन्दका पालमा ताप्लेजुङ, पान्थर, इलाम र भुटानका विभिन्न स्थानहरुमा माङहीमहरु स्थापना गरिए । ती माङहीमहरुमा ढोंड र दियालो बालेर मुन्धुम पढ्ने गरेको महागुरुका जीवित चेला नरदल फेजोङ सुनाउनुहुन्छ । यो मुन्धुम पठन—पाठनको अनौपचारिक थालनी थियो । यसैको निरन्तरता स्वरुप किरात धर्मगुरुले मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्दले वि.सं. २०४० तिर माङसेबुङ इलाममा ‘किरात साम्जिक मुन्धुम निसामहिम’ स्थापना गरी मुन्धुमको औपचारिक पठनपाठन शुरु गर्नुभएको थियो ।

विरामी-दुःखीको सेवा

महागुरु फाल्गुनन्दले जीवनको पछिल्लो ३० वर्षको अधिकांश समय विरामी तथा दुःखीहरुको सेवामा बिताउनुभयो । पल्टनमा आधुनिक औषधिले निको नभएका विरामीलाई मुन्धुमी विधि र जडिबुटीद्वारा उपाचार गर्नुभएको पाइन्छ । यसबारे हेमबहादुर गुरङ र कुलानन्द दाहालद्वारा वि.सं. २०२३ मा प्रकाशित ‘महागुरु फाल्गुनन्द जीवनी’ मा उल्लेख छ । महागुरु फाल्गुनन्द ‘वि.सं. १९६४ सालमा २२ वर्षको उमेरमा अंग्रेजको गोर्खाली फौज’ मा भर्ना हुनुभयो । पल्टनमा रहँदा पनि वहाँ बिरामीहरुको सेवामा तल्लीन रहने गर्नुहुन्थ्यो ।

धामी, झाँक्री, ‘या’ फेदाङमा, साम्बा र अस्पतालले निको पार्न नसकेका अनेकौं विरामीहरुलाई महागुरु फाल्गुनन्दले निको पारेर घटनाबारे थुप्रै पुस्तक, लेख र किमदन्ती पढ्न र सुन्न पाइन्छ । वहाँले नेपाल, भारत, भुटान र वर्माका विभिन्न स्थानमा पुगेर विरामी तथा दुःखीहरुका निम्ति माङसेवा तथा जडीबुटीबाट उपचार गर्नुभयो । वि.सं. १९९३ मा महागुरु फाल्गुनन्द भुटान जानुभयो । ‘पानाखोला गाउँकी फाट्टिनी माइली सेर्पाको साह्रै पेट दुख्ने बिमार थियो । सत्यहाङमालाई दर्शन गरी दुई, चार दाना अक्षता फुकेर ख्वाएपछि उनको पेट दुख्ने विमार आए । इलाम जीतपुर पारीगाउँका बलिवन्त (महागुरु फाल्गुनन्दका काका) का श्रीमती युब्रुङमा दीर्घ तीनवर्षदेखि रोगिएका थिए । ‘युब्रुङमाको उपचारको लागि वलिवन्तले अनेक उपाय गरे । तर, पार लागेन । काकाको अनुरोधपछि महागुरु फाल्गुनन्दले माङसेवा गरिदिनु भई, सुनपानी र तीतेपाती पानीले सेसे साङसाङ (चोख्याउने काम) गर्नुभयो । युब्रुङमा निको भइन् ।

वि.सं. २००१ मा काठमाण्डौंका जनरल विक्रम शमसेर जबरालाई र उनकी श्रीमतीलाई उपचार गर्न महागुरु फाल्गुनन्दलाई काठमाण्डौं भिकाईएको थियो । तत्कालीन नायव वडागुरु पं. द्वीपराजको सल्लाह अनुसार जनरलले ‘पूर्वी लिम्बुवान पल्लो किरातमा एकजना तपस्वी लिम्बू ठूला गुरु’ लिन एक सिपाई पठाए । ‘ठूला गुरु’ महागुरु फाल्गुनन्दलाई भनिएको थियो । महागुरु फाल्गुनन्द काठमाण्डौं जानुभयो । सेवा र उपचार गर्नुभयो । उनीहरु निको भए । महागुरुले दुःखीका निम्ति निशुल्क सेवा गर्नुहुन्थ्यो । वहाँलाई जनरले ‘उपकार वापत ५०० रुपैयाँ भेटी राखी विदा दिन खोज्दा आफूले उपकार वापत कहिल्यै रुपैया पैसा लिने नगरेको’ बताउनुभयो । वहाँलाई काठमाण्डौंमा बस्न अनुरोध भयो । तर, बस्नुभएन । वहाले समाजका निम्ति सेवा गर्ने जिम्मेवारी रहेको बताउनुभयो ।

लामो समय बिराम भएका विरामीहरु वहाँले उपकार गरेपछि सजिलै निको हुन्थे । महागुरु फाल्गुनन्द जहाँ पुगे पनि विरामीको लाइन लाग्थे । वहाँ आफैमा योग साधनाबाट माङगेप्मा (निर्वाण) गर्नुभएको थियो । योग विज्ञानका अनुसार योग सधनका माध्यमबाट आफूभित्र रहेको अत्भूत शक्तिलाई कुनै अंगमा केन्द्रित गर्न सक्छन् । यसरी शरिरको कुनै अंगमा केन्द्रित गरेको विरामीलाई उपचार गर्न सकिन्छ । यसलाई ‘रेकी’ भनिन्छ । गौतम बुद्ध र फाल्गनन्द विरामका अगाडि गइदिए पनि विरामी निको हुने गरेको सुन्न, पढ्न पाइन्छ ।

मनोविज्ञका अनुसार मानिस योग साधनाका माध्यमबाट ‘परम चेतन’ (सुपर कन्सियस) मा पुग्न सक्छन् । परम चेतना प्राप्त भएपछि मानिसले भूत, वर्तमान र भविश्यवारे थाहा पाउन सक्छन् । अर्कोतर्फ मानिको ‘विलिभ सिष्टम’ (विश्वास प्रणाली) जातृत गराएपछि मानिसभित्रका अत्भूत शक्ति सक्रिय हुन्छ । मानिसभित्रको अत्भूत शक्ति जागृत भएमा बिरामीले रोग जित्न सक्छन् । महागुरु फाल्गुनन्दमा विरामीको विश्वास प्रणाली जागृत गराउने विशेष क्षमता थियो । जसका कारण हजारौं विरामीको उपचार संभव भएको थियो ।

प्रकृति संरक्षण

महागुरु फाल्गुनन्द जहाँ पुगेपनि सेवा पूजा गर्ने गर्नुहुन्थ्यो । वहाँले हिमाल, डाँडा, खोला, जंगल, ओडार र मैदानहरुमा माङसेवा गर्नुहुन्थ्यो । वहाँले नेपाल, भारत, भुटान र वर्माका सयौं स्थानहरुमा सेवा लाउनुभएको कुरा विभिन्न लेख र पुस्तकमा उल्लेख भएको पाइन्छ । महागुरु फाल्गुनन्द प्रकृतिका सबै तत्वहरुलाई माङको अंशका रुपमा सम्बोधन गर्ने गर्नुहुन्थ्यो । जसले प्रकृतिसँग विवेकपूर्ण अन्तक्रिया गर्नेतर्फ प्रेरित गर्दछ । यसले खोलानाला, हावा पानी, हिमाल, पहाड र समथर भूमिलाई सफा सुग्घर र संरक्षण गर्नुपर्नेमा फाल्गुनन्दको जोड रहेको स्पष्ट पार्छ ।

पल्टने जीवनपछि महागुरु फाल्गुनन्दले स्वदेश विदेशका विभिन्न ठाउँको भ्रमण गर्नुभयो । खानेपानीको स्रोत नभएको विभिन्न स्थानमा पानी उमार्नुभयो, कुवाहरु खन्नुभयो । वि.सं. १८८३ मा पाँचथरको चोकमागुस्थित लब्रेमा ‘किरात साङसेनवरक’ माङहीम निर्माण गर्नुभयो । माङहीम क्षेत्र निपानी थियो । खानेपानिको मुहान थिएन । माङहीम नजिकै वि.सं. १८८४ माङसेवा गरी पानी माग्नुभयो, कुवा खन्नुभयो । सो निपानी जग्गामा पानीको मुहान फुट्यो । मुहान संरक्षणका निम्ति लब्रेको सयौं रोपनी जग्गामा विरुवा लगानुभयो ।

महागुरु फाल्गुनन्दले अन्य धेरै स्थानमा पानी उमार्नुभएको पाइन्छ । पान्थर रविको मुढेमा साधु गुफा माडे चौर’, इलाम जितपुर पारीगाउँ ‘वहाँको काका बलिवन्त लिङदेनको अनुरोधमा वि.सं. १९८० मा र १९८५ मा इलाम माङमालुङ छेउ तीनचुलेमा पानी उमार्नु भएको थियो । यसैगरी १९८६ पान्थर कुरुम्बा १, सिक्तेम्बाको थोक्पेत्चम्मा सानु डाँडामा र १९९४ इलाकै इभाङ चिम्भुवामा पानी उमार्नुभएको उल्लेख छ । महागुरु फाल्गुनन्दले उमार्नु भएको पानी आजसम्म पनि प्रयोग भइरहेको छ । निपानी जग्गामा पानीको मुहान फुटाउनुमा वहाँमा भूमिगत पानीका स्रोतबारे विशेष ‘आत्मपहिचान’ थियो । पानीका मुहानलाई टिकाउन वृक्षा रोपण गर्नुहुन्थ्यो । लब्रे शुरुमा नाङगो डाँडाको रुपमा रहेका थियो । महागुरु फाल्गुनन्दले दार्जिलिङको भूसपाते र नेपालका विभिन्न स्थानबाट विरुवाहरु ल्याएर वृक्षा रोपण गर्नुभयो । सो स्थानको विरुवा नकाट्न एउटा सत्यधर्म मुचुल्का बाँध्नुभयो । जंगल बढेपछि पानीको स्रोत बढ्ने भयो ।

महागुरुले थुप्रै स्थानहरुमा पहिरो थाम्नु भएको वहाँको जीवनी पढ्न र सम्बन्धित क्षेत्रका मानिसबाट बुझ्न पाइन्छ । महागुरु फाल्गनन्दबारे लामो समयदेखि खोजमा लाग्नुभएका रमेश तुम्बापो र मनकुमार फेजोङले महागुरु फल्गुनन्द र लोपन्मुख कथाहरु नामक पुस्तकमा चर्चा गरेका छन् । १९७८ बैसाकमा चोकमागुका सुब्बा हर्कधोजले ‘मेरो जग्गामा हिउदो वर्ष बगिरहने पहिरो छ, त्यसलाई रोकिदिनु’ भनेपछि वहाँले सेवा लगाइदिनु भयो । पैह्रो थामियो । एकपल्ट मिक्लुक थुम (हाल इलामको साक्फारा ८) कालीखोला र बुबाना खालाशिरमा ‘ठूलो पैह्रो गएको ठाउँमा त्यहाँ गाउँ समेत लाने आशंका थियो ।’ सो स्थानमा पहिरो रोक्न गुरुले उपाय सुझाउनु भयो । यसैगरी इलामको बाँझो ८, आदिपुर सेवा लगाउनु भएपछि पहिरो थामिएको थियो । वहाँले स्वदेश विदेशका विभिन्न स्थानहरुमा पैह्रो महागुरुले सँधै पहिरो रोक्न माङ सेवा लगाउने, बृक्षा रोपण गर्न लगाउने र भूमिलाई प्रदुषित नगर्न अनुरोध गर्नुहुन्थो । जसले प्रकृति संरक्षरणमा उहाँको भूमिका देखिन्छ ।

अन्त्यमा

महागुरु फाल्गुनन्द राष्ट्रिय विभूति हुनुभएपछि वहाँको जीवनका बिभिन्न पक्षबारे छलफल भइरहेका छन् । बहाँलाई आध्यात्मिक र सांस्कृतिक दृष्टिकोणबाट बढी छलफल गरिएका छन् । महागुरु फाल्गुनन्दका दर्शनलाई मानवतावादी र प्रकृतिवादी दृष्टिकोणबाट व्याखा गर्दा फरक अर्थहरु पाउन सकिन्छ ।

सन्दर्भ सामग्री

अधिकारी, तोयानाथ माध्यमिक शिक्षक दिशानिर्देश काठमाण्डौं : आदित्य बुक्स एण्ड डिष्ट्रिव्युटर्स, २०७५

आङबुहाङ, अबोध अविरल सांस्कृतिक उपनिवेश विरुद्ध सत्यधर्म मुचुल्काकिरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो स्कामारिका माङसेबुङ : किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो, १०४१०८

गुरुङ, हेमबहादुर र दाहाल, कुलानन्द महगुरु फाल्गुनन्द जीवनी (चौथो संस्करण) दमक : लिम्बू साहित्य प्रतिष्ठान, २०६८

तुम्बापो, रमेश र फेजङ, मनकुमार महागुरु फल्गुनन्द र लोपन्मुख कथाहरु  दमक : फूङहाङ फेजोङ र अन्य, २०७२

लिङदेन, आत्मानन्द सेइङ सम्पादित किरात साम्जिक मुन्धुम (भाग १८)  माङसेबुङ : किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा, २०६४  

लिङदेन, कृष्ण भुटानमा मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङदेन र भुटानका चेलाहरु, किरात समाचार मासिक वर्ष २१, अंक १, २०७२ कात्तिक, १९२४   

लिङदेन, नविन मुहिङगुम अङसीमाङ लिङ्देनको संक्षिप्त जीवनी’, किरात समाचार मासिक वर्ष २१, अंक १, २०७२ कात्तिक, १८  

विभू, सिमोन दि द सेकोण्ड सेक्स  लण्डन : भिन्टेज, १९९७   

{https://en.wikipedia.org/wiki/World_War_I}

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार