नेपाल संवत ११३९ आजबाट सुरु

काठमाडौं : नेपाल संवत ११३९ आजबाट सुरु भएको छ ।

नेपाल संवतको नयाँ वर्ष देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले बिक्रम सम्वत् ९३७ मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवतको शुरुवात गराएका थिए ।

नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो । लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतकै रुपमा चलेको थियो ।

लिच्छविकालअघि शक संवत प्रचलनमा थियो । नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत हो । २००७ सालमा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।

गरीब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

२०६५ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।

कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परासमेत काठमाडौंमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार