भारतको बथनाहादेखि नेपालको बुधनगरसम्म रेल्वेको सफल परीक्षण

विराटनगर : भारतको बथनाहादेखि नेपालको कटहरीसम्म निर्माणाधीन रेल्वेमार्गमध्ये आइतबार पहिलोपटक बुधनगरसम्म रेल्वेको सफल परीक्षण गरिएको छ ।

नेपालतर्फ देखिएको जमिनको मुआब्जा विवाद सल्टिएको खन्डमा डेढ वर्षभित्र कटहरीसम्मै रेल गुडाउन सकिने निर्माण कम्पनीको दाबी छ ।

भारतको बथनाहादेखि मोरङको विराटनगर महानगरपालिकाको बुधनगरसम्मको लिकमा आइतबार रेल्वेको सफल परीक्षण गरिएको हो ।

नेपालको रेल्वे कस्टम यार्ड र भारतीय रेल्वे स्टेसन बथनाहातर्फबाट ‘ट्रयाक’मा फलाम लिक बिछ्याउँदै ३.३ किलोमिटरसम्म रेलमार्गको परीक्षण गरिएको हो ।

भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको ८ किलोमिटर रेल्वेखन्डको निर्माणको जिम्मा पाएको इकोर्न कम्पनीले परीक्षणका लागि डिजेल इन्जिनको रेल कुदाएर सफल परीक्षण गरेको निर्माण कम्पनी इकोर्नका जेनेरल प्रोजेक्ट मेनेजर नरेन्द्र कुमार बताउँछन् ।

भारतको बथनाहाबाट आइपुगेको रेलको इन्जिन बोक्ने डब्बामा भारतका रेल विभाग र निर्माण कम्पनी इकोर्नका प्रतिनिधिहरु सवार थिए ।

नेपालको तर्फबाट मुआब्जाको विषय हल हुनसकेको खन्डमा एकदेखि डेढ वर्षभित्रमा नेपालभित्रको कटहरीसम्म रेलसेवा सुचारु गर्ने रेल निर्माण कम्पनी इकोर्नका प्रोप्राइटर अश्वीनि कुमार बताउँछन् ।

रेल्वेको परीक्षण सफल भएपछि पहिलो चरणमा मालवहाक रेल नेपाल आउनेछ । त्यसपछि सोही रेलमार्गमा थप लिक निर्माण भएपछि यात्रीवाहक रेल नेपालतर्फको कटहरीसम्म आउनेछ ।

कोलकाताबाट नेपाल जोड्ने सीधा रेलमार्ग नहुँदा ढुवानी लागत बढेको गुनासो गर्ने नेपाली उद्योगी–व्यवसायीलाई मालवहाक रेल सन्चालनमा आएसँगै सामान आयातमा सहज हुने विराटनगर–१८ का वडाध्यक्ष सञ्जय साह बताउँछन् ।

नेपाल र भारत सरकारबीच सन् २०१० मा विभिन्न पाँच स्थानमा रेलमार्ग विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

जसअनुसार यसको सम्पूर्ण खर्च भारत सरकारले व्यहोर्ने र नेपालतर्फको जमिनको मुआब्जा नेपाल सरकारले व्यहोर्ने समझदारी भएको थियो ।

समझदारीअनुसार सन् २०१७ सम्ममा नेपाली भूमिमा रेल ल्याउनुपर्ने भएपनि भारतको बथनाहादेखि नेपालको कटहरीसम्म १८.६ किलोमिटरमध्ये  ८ किलोमिटरको काम पूरा भएको छ । बाँकी काम मुआब्जा विवादले अवरुद्ध छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार