सूर्योदय : इलामको सूर्योदय नगरपालिका १ गोर्खेस्थित साँघुबेँसीमा चिया प्रशोधन कारखाना शिलान्यास गरिएको छ । साँघुबेँसी चिया उत्पादक सहकारी संस्थाको ३ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण हुने प्रशोधन कारखाना आइतबार शिलान्यास गरिएको हो ।
सुर्योदय नगरपालिकाकी उपप्रमुख दुर्गादेवी भट्टराई, १ नम्बर वडा अध्यक्ष राजकुमार सेरेङ र ३ नम्बर वडा अध्यक्ष भौतिक पूर्वाधार विकास समितिका संयोजक होम कार्कीले कारखानाको संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरउपप्रमुख दुर्गादेवी भट्टराईले सहकारीको लगानीमा चिया प्रशोधन कारखाना निर्माण हुनु सहकारीको मात्र नभएर नगरकै गौरवको कुरा भएको बताइन् । सूर्योदय नगरपालिका आफैमा चियाको राजधानीको रुपमा विकसित भइसकेको अवस्थामा नगरपालिकाले पहिलो काम चिया क्षेत्रमा गर्नुपर्ने महसुस गरेर नगरपालिकाले चिया कार्यविधि नै बनाएर काम गरिरहेको उल्लेख गर्दै सहकारीले नाफामुखी नभएर किसानको हक हितलाई कायम राख्दै किसानमुखी भएर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिइन् ।
सहकारीको अवधारणा भित्र रहेर सहकारी ऐन अन्तर्गत उचित ढंगले सञ्चालन भएका सहकारी संस्थालाई नगरले प्रोत्साहन गर्ने निती रहेको र सहकारीहरुलाई अनुदानका लागि पनि नगरपालिकाले कार्यविधि बनाइसकेको बताइन् ।
कार्यविधि भित्र रहेर सहकारी सञ्चालन भएमा अनुदानको प्रक्रियामा सहभागी गराएर लैजाने बताउँदै उनले नगरपालिकाको निती र विधिभित्र रहेर आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । साथै सूर्योदय नगरपालिकाले अर्गानिक खेतीलाई प्रोत्साहन र प्राथमिकतामा राखेकाले अर्गानिक खेतीलाई प्राथमिकता दिन र प्रशोधन कारखाना पनि अर्गानिक चिया उत्पादन गर्ने गरि निर्माण गर्न आग्रहसमेत समेत गरिन् ।
१ नम्बर वडा अध्यक्ष सेरेङले चिया प्रशोधन कारखाना निर्माण हुने ऐतिहासिक र गर्वको कुरा रहेको भन्दै सो कारखानाले यस क्षेत्रका चिया किसानहरुको आर्थिक विकासमा सहयोग पुर्याउने विस्वास व्यक्त गरे ।
३ नम्बर वडा अध्यक्ष तथा भौतिक पूर्वाधार विकास समितिका संयोजक कार्कीले भवन निर्माण गर्दा पूर्वाधार विकामा ध्यान दिँदै नगरपालिकाको भवन निर्माण संहिता बमोजिम निर्माण गर्न आग्रह गरेका छन् । साथै छिमेकी वडाको प्रतिनिधिको हैसियतले आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
२०६३ सालमा स्थापना भएको साँघुबेँसी चिया उत्पादक सहकारी संस्थाले निर्माण सुरु गरेको प्रशोधन कारखाना एउटा नमुना कारखानाको रुपमा विकास गर्ने सहकारीको लक्ष्य रहेको संस्थाका अध्यक्ष शंकर बस्नेतले बताए । कारखानाले वर्तमान समयमा ग्राहकको माग अनुसार अर्गानिक चिया उत्पादन गरि नेपाल र भारतका बजारमा मात्र सीमित नभएर तेस्रो मुलुकमा समेत आफ्ना पुर्याएर आफ्नो पहिचान बनाउने बस्नेतले बताए ।
साँघुबेँसी चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष शंकर बस्नेतको अध्यक्षता, सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गादेवी भट्टराईको प्रमुख आतिथ्यता तथा सुर्योदय नगरपालिका वडा नं १ का अध्यक्ष राजकुमार सेरेङ र वडा नं ३ का अध्यक्ष तथा भौतिक पूर्वाधार विकास समितिका संयोजक होम बहादुर कार्कीको विशेष आथित्यतामा कार्यक्रम भएको थियो ।