संघीय समाजवादी फोरम र जनसमाजवादी पार्टी नेपाल एकीकरण

पिंजडा सुनकै भएपनि मानिसहरु कैदी भएर बाँच्न चाहँदैन : सहअध्यक्ष श्रेष्ठ

काठमाडौं : काठमाडौंको स्वयम्भुमा आयोजित एक कार्यक्रममा रणबहादुर रम्तेलको नेतृत्वमा जनसमाजवादी पार्टी नेपाल संघीय समाजवादी फोरम नेपालमा एकीकृत भएको छ । रम्तेलको नेतृत्वमा एक सय जनाभन्दा बढी नेता तथा कार्यकर्ताहरु ससफोमा प्रवेश गरेका हुन् ।

ससफोका सहअध्यक्ष तथा सांसद राजेन्द्र श्रेष्ठले उनीहरुलाई स्वागत गरेका छन् । सो क्रममा नेता श्रेष्ठले पहिचान सहितको संघीयता र समतामूलक समृद्धिका लागि सबै उत्पीडित समुदाय गोलबद्ध भएर लाग्नुपर्ने बताए । उनले पिंजडा सुनकै भए पनि मानिसहरु कैदी भएर बाँच्न चाहँदैन भन्दै संघीय समाजवादले समृद्धिको सँगसँगै पहिचान र अधिकार पनि दिलाउने बताए ।

ससफोमा प्रवेश गरेका रम्तेलले नेपालका उत्पीडित समुदायको मुक्ति दिने पार्टी नै ससफो नेपाल रहेकाले आफूहरु पार्टीमा एकीकृत भएको घोषणा गरे । उनले ससफोलाई जातिवादी भन्ने गरेको आरोप आफूले सुनेको तर ससफोको दस्तावेज र कार्यक्रम अध्ययन गर्दा जातिवादी नभई सबै उत्पीडितहरुको मुक्तिका लागि लड्ने पार्टी भएकोले आफूहरु ससफोमा लागेको बताए ।

पूर्व गाविस अध्यक्ष तथा पार्टीका अनुशासन समितिका सदस्य विनोद श्रेष्ठले स्वागत गरेको सो कार्यक्रममा पार्टीका उपाध्यक्ष हेमराज राई, उपमहासचिव प्रकाश अधिकारी, पार्टीका सचिव तथा सहरी विकासमन्त्री इस्तियाक राई, राजनीतिक समिति सदस्य राजन केसी, डिबी नेपाली, नवराज दाहाल, प्रेम थापा, लिला सिटौला लगायतले आआफ्ना बिचार राखेका थिए ।

अर्जुन गिरिको अध्यक्षतामा भएको उक्त कार्यक्रम हिराकाजी महर्जनले सञ्चालन गरेका थिए । कार्यक्रममा केन्द्रीय सदस्य आङकाजी शेर्पा, पुर्ण बस्नेत, लालबहादुर तामाङ, पवित्र बज्राचार्य, तारा विश्वकर्मा, कृष्णकुमारी वाइबा, रमेश चन्द्र प्रधान, विष्णुजंग बस्नेत, मनरत्न शाक्य, अर्जुन लम्साल, कृष्णकुमार घलानलगायत केन्द्रीय नेताहरुको समेत सहभागिता थियो ।

सो कार्यक्रमपछि पार्टीका नागार्जुन नगर समितिको आयोजनामा सोही स्थानमा दसैं, तिहार, नेपाल सम्बतको न्हुदँ र छठलगायत सबै राष्ट्रिय पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम समेत राखिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार