इलाम : लोकतन्त्रलाई संस्थागत गर्दै समृद्ध नेपाल निर्माणका लागि निरन्तर कलम चलाउने पूर्वका सात जिल्लाका पत्रकाहरुले प्रतिवद्धता जनाएका छन् । लोकतन्त्र संस्थागत गर्न पत्रकाहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनीहरुले परिवर्तनको पक्षमा निरन्तर कलम चलाउने प्रतिवद्धता जनाए ।
इलाममा संचालित पाँच दिवसीय खोज पत्रकारिता तालिमका सहभागीले त्यस्तो प्रतिवद्धता जनाएका हुन् । उनीहरुले नेपालको परिवर्तनमा पत्रकारहरुको योगदानको स्मरण गर्दै आगामी दिनमा समेत कलमका माध्यमबाट योगदान गर्न तयार रहेको बताए ।
कार्यक्रमको समापनका अवसरमा फोनिजका केन्द्रीय सदस्य समेत रहेका प्रशिक्षार्थी विजयबोध लावतीले राजनैतिक परिवर्तनको लागि कलम चलाएका पत्रकाहरुले अब आर्थिक समृद्धिका लागि कलम चलाउन आवश्यक रहेको बताए । नेपाल कृषिमा आश्रित मुलुक रहेको उल्लेख गर्दै लावतीले ग्रामीण क्षेत्रका किसान र मजदुरमा रहेको समस्या खोजमूलक पत्रकारिताको माध्यमबाट उजागर गरी राज्यलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिए । प्रशिक्षार्थी सुजता सुनुवारले ग्रामीण क्षेत्रका किसानको समस्यालाई नीति निर्माण तहमा पुर्याउन पत्रकारको महत्वपूर्ण योगदान रहने बताईन् । उनले तालिमबाट सिकेका सीप व्यवहारिक जीवनमा प्रयोग गर्ने प्रतिवद्धता जनाइन् । अन्य सहभागीहरुले समेत अनुसन्धनात्मक पत्रकारिताको माध्यमबाट राज्यको चौतर्फी विकासमा लागि सकरात्मक सहयोग गर्ने प्रतिवद्धता जनाए ।
नेपाल आदिवासी जनजाति पत्रकार महांसघ (फोनिज) को आयोजनामा ‘उत्तरदायी व्यवसायका लागि अन्तरराष्ट्रिय श्रम संगठनका मापदण्ड तथा आधारहरु’ विषयक तालिम संचालन गरिएको थियो ।
तालिममा पूर्वका ७ जिल्लाका २१ जना व्यवसायिक आदिवासी जनजाति पत्रकारहरुको सहभागिता थियो । कार्यक्रममा इलाम, पाँचथर, तेह्रथुम, भोजपुर, संखुवासभा र धनकुटाबाट सहभागी थिए । तालिमका सहभागीहरुलाई नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले प्रशिक्षण दिएका थिए ।
अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा संचालित तालिमको समापन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामका अध्यक्ष राम योङहाङको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा फोनिजका संघीय सचिव कमन देवान, १ नम्बर प्रदेश इन्चार्ज दिपीन राई, प्रशिक्षक झा, नेपाल आदिवासी जनजाति महासंघ इलामका अध्यक्ष अभिषेक येक्तेन, नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष कोकिला ढकाल, संस्थापक सभापति धर्म गौतम सिकेका सीपलाई व्यवहारिक जीवनमा प्रयोग गरी व्यवसायिक पत्रकारितामा जोेड दिएका थिए ।
डेनमार्क राजदुतावासको आर्थिक सहयोगमा आइएलओदवारा संचालित एड्बोकेसी च्यालेन्ज फण्ड मार्फत किसानद्वारा उत्पादित अलैंची, अदुवा, दूग्ध र अदुवाको व्यवसायिक प्रवद्र्धनमा सहयोग गर्ने तालिमको आयोजना गरिएको थियो । फोनिज÷आइएलओ÷एसीएफ परियोजना अन्तरगत संचालन गरिएको थियो ।
यसअघि फोनिजले पूर्वका सात जिल्लामा सोही परियोजना अन्तरगत मिडियो फेलोसीप कार्यक्रम संचालन गरेको थियो । सो परियोजना अन्तरगत सात जिल्लाका ३५ पत्रकारलाई नगद ३० हजारका दरले फेलोसिप समेत वितरण गरिएको परियाजना संयोजक गंगा गुरुङले जानकारी दिइन् ।