इलाम : नेपालीहरुकाे महान चाड बडा दशैं तथा तिहारमा पहिले पहिले राखिने लिङ्गे पिङ हिजो आज हराउदै गएको छ । केही बर्ष अघिसम्म दशैँ तिहार जस्ता चाडमा प्राय गाउका टोलमा लिङगे पिङ हालिन्थ्यो तर पछिल्लो समय गाउँगाउँमा खेलिने लिङगे पिङको चलन विस्तारै हराउदै गएको हो ।
गाउँ घरका युवा देखि बुढापाका मिलेर खरबारीमा गई बाबियो काटेर रातमा पिङको लुठो बाटेर दिनमा बाँसको ४ ओटा लिङगा गाडी पिङ बनाउने गरिन्थ्यो । दशैंको सुरुवातदेखि हालेको पिङ तिहार सम्मै राखिन्थ्यो तर अहिले युवाहरु रोजगारीको सिलसिलामा गाउँबाट बिहिर देशहरुमा जान थालेसँगै दशैंमा रौनक थप्ने लिङ्गे पिङ खेल्ने संस्कृती हराउँदै गएको हो । विशेष गरी युवा पुस्ताले लिंगे पिङ निर्माण गरेर खेल्ने र रमाईलो गर्ने चलन थियो, अहिलेको पुस्ताले यस्ता कुरा खासै चासो नदिने गरेका छन् ।
पछिल्लो समय प्रविधिको विकास भएसँगै गाउँ घरमा समेत मनोरञ्जनका अन्य साधनहरु प्रसस्तै आएकाले पनि पिङतर्फ आकर्षण घटेको बुढापाकाहरु बताउछन । युवाहरु रोजगारीको लागि प्राय खाडी मुलुकमा गएका छन । युवाहरु विदेशिएका कारण पिङ बनाउने जनशक्तिको अभाव समेत बढदै गएको छ । पिङ बनाउनको लागि बाबियो काटेर ल्याउने, लुठो बाटन र ४ वटा बास गाडन कम्तिमा ८ र १० जना आवश्यक पर्दछ ।
गाउँमा युवा पुस्ताको अभावले महान चाड बडा दशैं तिहारमा निर्माण गरि खेल्ने लिङगे पिङको प्रचलन विस्तारै हराउँदै गएको छ । तन्नेरी ठिटा र ठिटीको समेत पिङमा दोहोरी खेल्ने प्रचलन थियो तर गाउँघरमा फाट्ट फुट्ट भएका युवाहरु पनि व्यावसाय र रोजगारमा हुनुले पनि लिङगे पिङको संस्कृति लोप हुदै गएको हो ।