नेपाली कांग्रेसको चियापान कार्यक्रम आज

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा शुक्रबार चियापान कार्यक्रमको आयोजना गर्दैछ ।

चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करिब एक लाख व्यक्तित्वलाई निमन्त्रण गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राससलाई जानकारी दिए ।

कांग्रेसले शुक्रबार काठमाडौं उपत्यकाको केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरेको जनाएको छ ।

वि.सं. २०३३ मा जननायक बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि वि.सं. २०३५ देखि प्रत्येक वर्ष कांग्रेसले जलपान समारोह गरी शुभकामना आदान–प्रदान गर्दै आएको छ ।

कांग्रेसले यस वर्ष पनि निरन्तरता दिँदै कात्तिक १६ गते अपराह्न १ बजेदेखि साँझ ५ बजेसम्म केन्द्रीय कार्यालय ललितपुरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा राजनीतिक दलका नेता, मन्त्रिपरिषदका सदस्य, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवक, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेसागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सन्चारगृह, पत्रकार, गैरआवासीय नेपालीका संघ–संस्थाका प्रमुखलगायतका विशिष्ट महानुभाव, कांग्रेसका सदस्य एवं शुभेच्छुकको सहभागिता रहने प्रवक्ता शर्माले बताए ।

हरेक वर्ष विजयादशमी कोजाग्रत पूर्णिमाका दिन आयोजना हुने कांग्रेसको चियापान कार्यक्रम यस वर्ष पार्टीका नेता चक्रप्रसाद बास्तोलाको निधनको १३औं दिन नपुगेका कारण कात्तिक १६ गते सारिएको हो । नेता बास्तोलाका गत असोज २७ गते निधन भएको थियो ।

कांग्रेसले वि.सं. २०७३ मा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधनको वार्षिकी भएकाले र वि.सं. २०७४ मा निर्वाचनका कारण चियापान कार्यक्रम आयोजना गर्न सकेको थिएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार